काठमाडौं : सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् ।
कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ ।
अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् ।
त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३औं महाधिवेशनपछि नै संस्थागत भएको हो । सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए । त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् ।
तर १३औं महाधिवेशन भएको पाँच वर्ष पूरा भएर १४औं महाधिवेशनमा होमिँदै गर्दा भने कांग्रेसभित्रको संस्थागत गुट नै फुटको सँघारमा पुगिसकेको छ । केही नेताहरूले भने धमाधम धार फेर्न थालिसकेका छन् ।
१४औं महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा नै सभापतिका आकांक्षी छन् । यस्तै, सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी राखिसकेका छन् । उनले हालको संस्थापनबाट देउवाविरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छन् ।
‘म सभापतिका लागि पूर्णरूपमा तयारीसहित अघि बढिसकेको छु, सबैसँग निरन्तर छलफलमा छु, सम्पर्कमा छु, जिल्लाका साथीहरूसँग पनि भेटघाट र संवाद भइरहेको छ,’ पार्टी सभापतिका लागि मैदानमा उत्रिएका निधिले राजधानीसँग भने ।
यस्तै, संस्थापनबाटै नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकांक्षी हुन् । तर, उनले अहिलेसम्म औपचारिक रूपमा मुख खोलेका छैनन् । निधि र श्रेष्ठ दुवै मैदानमा उत्रने हो भने देउवालाई चुनौती थपिन्छ ।
महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका शर्माले आफ्नो निकटता सभापति देउवासँग प्रस्ट रहेको तर महाधिवेशनका विषयमा भने आफूले उम्मेदवारी मात्रै घोषणा गरेको बताए ।
यसैगरी, संस्थापनइतर मानिएको पौडेल समूहबाट वरिष्ठ नेता आफैं सभापतिको मुख्य दाबेदार हुन् । उनी आफ्नो समूहमा सहमति गराएर सर्वसम्मत उम्मेदवार हुने दाउमा अघि बढ्दै आइरहेका छन् ।
सोही समूहबाट हालका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइरालासमेत सभापतिका आकांक्षी हुन् । यो समूहलाई मिलाउन नेत्री सुजाता कोइराला निकै सक्रिय रहँदै आइरहेकी छन् । यस्तै नेता अर्जुननरसिंह केसीसमेत यसपटक यो गुटभित्र सहमति गराएर सभापति पद देउवाबाट फुत्काउन सक्रिय भएर लागिरहेका छन् । यो समूहबाट कोइराला परिवारबाटै सभापतिमा दाबी हुने सम्भावनासमेत छ ।
यसैगरी, कांग्रेसभित्रको अर्को गुट सिटौला समूह हो । सिटौला आफैं पनि आगामी महाधिवेशनका लागि टिम नै घोषणा गर्ने तयारीमा छन् । उनले यसअघि सीमित व्यक्तिलाई राखेर टिम बनाएको भए पनि यसपटक टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आइरहेका छन् ।
यसैगरी, कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
गगन र विश्वप्रकाश कता ?
१३औं महाधिवेशनमा गगन थापा कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धारबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । यसपटक भने उनले महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
‘तपाईं यसपटक कुन समूहबाट उम्मेदवार ?’ भन्ने प्रश्नमा थापाले राजधानीसँग भने, ‘म गत महाधिवेशनमा कृष्ण सिटौला दाइको समूहबाट मैदानमा थिएँ, यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला दाइ दुवैलाई एक ठाउँमा ल्याउने प्रयासमा अघि बढेको छु ।’
थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ४ मा आयोजित कार्यक्रममा अग्रजमाझबाट उम्मेदवारी घोषणा गरेका थिए । त्यसयता उनी वरिष्ठ नेता पौडेल समूहले आयोजना गरेका कार्यक्रममा निरन्तर सहभागी हुँदै आइरहेका छन् । उनी पौडेल समूहले सभापतिका आकांक्षीहरूबीच एकता र सहमति हुने भनी १७ भदौमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रममासमेत सहभागी बनेका थिए ।
यस्तै, हालका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि १४औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले १०८औं बीपी जयन्तीका अवसरमा २४ भदौमा बीपी संग्राहलय सुन्दरीजलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका शर्माले आफ्नो निकटता सभापति देउवासँग प्रस्ट रहेको तर महाधिवेशनका विषयमा भने आफूले उम्मेदवारी मात्रै घोषणा गरेको बताए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।