८ असाेज, कास्की ।
नेपालमै पहिलो पटक पोखरा महानगरपालिकाले कुकुर दर्ता अभियान सुरु गरेको छ । शुक्रबार महानगरपालिका वडा नम्बर ८ बाट कुकुर दर्ता र पालन अनुमति पत्र वितरणको शुभारम्भ गरेको हाे ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । महानगरपालिकाले कुकुरलाई पाल्ने तर सडकमा छाडा छोड्ने व्यक्तिलाई ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ ।
अब देखि वडामा कुकुर दर्ता भएका कुकुरलाई सार्वजनिक ठाउँमा छाडन पाइने छैन भने दिसा पिसाब गराए जरिवाना लगाइने वडा अध्यक्ष रुदनाथ बरालले बताए । उनले भने, ‘वडाले दर्ता प्रमाणपत्रसँगै कुकुरलाई ट्याग लगाउन थालेको छ । ट्याग लगाएको कुकुर कसको हो भन्ने जानकारी हुने र त्यस आधारमा मालिकलाई कारबाही हुन्छ ।’
महानगरको वडा र पशु सेवा शाखाको आयोजनामा पहिलो पटक नेपालमै यस्तो कार्यक्रमको सुरुवात भएको दाबी वडा अध्यक्ष बरालले दाबी गरे । उजले भने ‘यो कार्यक्रमलाई कडाइका साथ कार्यान्वयन गछौँ । कुकुरको दिसा पिसाबले मानव स्वास्थ्यमा प्रभाव पार्छ ।’
कार्यक्रमको शुभारम्भ गदै उपप्रमुख मञ्जुदेवी गुरुङले सुन्दा र हेर्दा यो कार्यक्रम सामान्य लागे पनि महत्त्वपूर्ण रहेको बताइन् । यो मानवको स्वास्थ्य र सुरक्षासँग सम्बन्धित रहेको बताउँदै भनिन्,‘सभ्य नागरिक भएको सहरको परिचय यसले दिने छ । सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’
उनले कुकुरलाई नियमित रुपमा रेबिज विद्धको खोप लगाउनुपर्नेमा जोड दिइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले यो कार्यक्रम राम्रो रहेको बताउँदै यसले सडक फोहोर अन्त्य गर्ने र वातावरण सफा हुने बताए । दर्ता गरेर कुकुरलाई व्यवस्थित रुपमा पाल्दा विवरण अद्यावधिक गर्दा पशु सेवा शाखाले ताकेता गर्ने र रेबिज विरुद्धको खोप लगाउन सहज हुने बताए ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख केदारराज पाण्डेले रेबिजका कारण नेपालमा हरेक वर्ष २ सय जनाको मृत्यु हुने गरेको बताउँदै यसको लक्षण देखेपछि बचाउन नसकिने बताए । कार्यक्रममा कुकुरलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाउने अभियानको समेत शुभारम्भ गरिएको छ ।


