१८ असोज, बुटवल ।
दसैं नजिकिएसँगै भैरहवा क्षेत्रमा बजार अनुगमन तीव्र पारिएको छ ।
कालोबजारी र महँगी सिर्जना गरी उपभोक्ता ठग्ने कार्य बढेको गुनासो बढेपछि व्यावसायिक प्रतिष्ठान तथा खाद्य सामग्री बिक्री केन्द्र, पसलको अनुगमन थालिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईको संयोजकत्वको टोलीले बजारका खाद्य, किराना, फलफूल, मदिरा पसलको अनुगमन गरेको हो ।
व्यवसाय दर्ता भए÷नभएको, पसलबाट बिक्री गरिएका खाद्य वस्तुको गुणस्तर कायम भए÷नभएको, उपभोग्य मिति भए÷नभएको र बिक्री मूल्यको अवस्थाबारे अनुगमन भइरहेको भट्टराईले बताए ।
ओमसतिया गाउँपालिका–१ ठुटिपिपलस्थित चौधरी फलफूल तथा नास्ता पसललाई १० हजार जरिवाना गराइएको छ । एक वर्ष अघि नै म्याद सकिएका पेय पदार्थ, खाद्य वस्तु भेटिएको र व्यवसाय नवीकरण नभएको पाइएपछि कारबाही गरिएका हो ।
बजारमा कालोबजारी हुन नदिन र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न अनुगमन भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई बताए ।

