१८ असार , काठमाण्डौ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा पुरानो फैसला कार्यान्वयन गराउने क्रममा कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई पक्राउ गरी प्रहरीले अहिले अदालतमा पनि पेस गरिसकेको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार भण्डारीलाई आज बिहान भीमदत्त नगरपालिका–१८ कटानस्थित घरबाटै पक्राउ गरिएको हो ।
‘अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँ’, एसपी गिरीले भने, ‘अहिले अदालतमा पेस गरेका छौँ।’ जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० जरिवानाको फैसला सुनाएको छ ।
कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी प्रकरणमा पत्रकार भण्डारीले मानसखण्ड दैनिक र सामाजिक सञ्जालबाट समेत आफ्नो विषयमा लेख्दा प्रतिष्ठामा आँच पुगेको भनी तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।
जिल्लाको फैसलाविरुद्ध भण्डारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए । तर उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले पनि गत चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी बिष्ट जो हाल एसएसपीबाट अवकाशप्राप्त अधिकारी हुन्, उनका छोरा किरणले भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन् ।
उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन् । यसअघि पनि जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई तुच्छ सजाय अन्तर्गत कारागार पठाएको थियो । अदालतमा उपस्थित भएका उनलाई एक रुपैयाँ जरिवानासहित एक घण्टा कारागार पठाएको थियो ।
उनी मानस खण्ड दैनिक पत्रिकाका सम्पादक हुन् । सरकारले निर्मला पन्त हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान सुरु गरेसँगै पत्रकार भण्डारी सक्रिय भइरहँदा पक्राउ परेका हुन् । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।




