१८ असार , काठमाण्डौ।
तेस्रो मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको र अन्य ३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले असई विकको मृत्यु प्रकरणमा पूर्व सांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मासहित धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला गरेको हो । यस्तै, सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरू प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (३) नम्बरबमोजिम जन्मकैद गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
महोत्तरी जिल्ला अदालतले ती तीनै जनालाई २०८० मङ्सिर २८ गते जन्मकैद र पूर्व सांसद महतो तथा पवन कापरलाई सफाइ दिएको थियो । महोत्तरी जिल्ला अदालतको जन्मकैदसम्बन्धी फैसला मिलेको ठहर गर्दै तीनै जनाको हकमा फैसला सदर गरेको सूचना अधिकारी पाण्डेले बताए ।
उच्च आदलतको फैसलामा मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको, तीनै जना प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानको क्रममा तीनै जनाले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र र सँगै रहेका पप्पुकुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकृतसमक्ष उनीहरूको संलग्नता पुष्टि गर्ने काज गरेको उल्लेख छ ।
घटनास्थलको तस्बिरबाट पनि प्रतिवादी सञ्जयकुमार साहले थमन विकमाथि प्रहार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ । यस्तै पूर्व सांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरको हकमा भने कथन विकमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ट प्रमाण नभेटिएको तर जन्मकैद सजाय पाएका प्रतिवादीहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको देखिएकाले मुलुकी ऐनको ज्यानसम्बन्धीको १७ (२) नम्बरको कसुर गरेको ठहर गरिएको उल्लेख छ ।
मधेस आन्दोलनका क्रममा गत २०७२ भदौ २५ गते कार्यस्थलको लागि महोत्तरी आएका असई विकको आन्दोलनकारीको कुटपिट मृत्यु भएको जनाइएको छ । २०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य समेत रहेका महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
घटनाका बेला मधेश आन्दोलनको राँको बलिरहेको बेला महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच हिंस्रक झडप भएको थियो । सोही झडपमा थमन विक गम्भीर घाइते भए । रगताम्मे अवस्थामा रहेका विकलाई बचाउन एम्बुलेन्समा राखेर अस्पताल दौडाइरहँदा आक्रोशित भीड उनको पछि लागिरहेको थियो ।
त्यसक्रममा जलेश्वरबाट जनकपुर लैजाँदै गर्दा सनोखडाको हिलो र कच्ची बाटोमा एम्बुलेन्स फस्यो । मोटरसाइकलमा लखेट्दै आएका आन्दोलनकारीबाट बच्न घाइते विक खेततिर लुक्न भागे । तर, भीडले उनलाई लुकेकै ठाउँबाट घिसारेर निकाल्यो र लाठी, ढुङ्गाले प्रहार गरी क्रूरतापूर्वक हत्या ग¥यो ।
त्यो बीभत्स हत्याको आरोप लक्ष्मी महतोमाथि लाग्यो । तर मुद्दा चल्ने भएपछि उनी फरार भए । अनि फरार अवस्थामै उनी नेकपा एमालेमा प्रवेश गरे । २०७९ को चुनावमा महोत्तरी–१ बाट उम्मेदवार बनेर उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
कानुनको नजरमा फरार सूचीमा रहेका व्यक्ति संसद भवनमा हाजिर भइरहँदा राज्य र प्रहरी प्रशासन लाचार बनेर हेरिरहेका थिए । यसबीच २०८० मंसीर २८ गते जिल्ला अदालत महोत्तरीले उनलाई अनपेक्षित रूपमा सफाइ दियो । उनका साक्षीहरूले त्यस दिन महतो बिरामी भएर घरमै सुतेका थिए भनी दिएको बयानलाई आधार बनाउँदै अदालतले सफाइ दियो ।
तर त्यसअघि पनि सांसद निर्वाचित भएपछि उनी पक्राउ नपरी पटक–पटक प्रतिनिधिसभाको बैठकमा सहभागी भएका थिए । राज्य संयन्त्रले फरार अभियुक्तलाई संरक्षण दिएको भन्दै त्यसबेला व्यापक आलोचना भएको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि उनी संसद्मा झन् खुलेर सहभागी हुन थालेका थिए ।
पछि एमालेले फागुन २१ मा भएको निर्वाचनमा पनि उनलाई सोही क्षेत्रबाट उम्मेदवार बनाएको थियो । तर उनी तेस्रो स्थानमा सीमित भएका थिए । तर उच्च अदालतले घटनास्थलमा रहेका अभियुक्तहरूको बयान, घटनाको प्रकृति र उपलब्ध प्रमाणहरूको समग्र मूल्यांकनपछि जिल्ला अदालतको निष्कर्षसँग असहमति जनाउँदै कोइरीलाई दोषी ठहर गरेको हो ।




