कर्णालीको अन्तिम खेलमा चितवनविरुद्ध २४ रनको जित

२९ कात्तिक २०८३, आइतबार
Share this
713shares

२९ कार्तिक , काठमाण्डौ ।     नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । कर्णालीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

Advertisement

जवाफमा चितवनले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमायो । चितवनका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए । उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर कामिल मिशाराले १७ बलमा २५ रन जोडे । कुशल मल्लले १५ बलमा १८ तथा देव खनालले १३ बलमा १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । कप्तान सिकन्दर रजा २ रनमा आउट हुँदा विवेक यादवले ६, डान माउस्लीले ८ र सलाहुद्दिन खानले ७ रन बनाए । अशोक धामीले ७ बलमा ११ रन थपे । कर्णालीको बलिङमा हुसैन तलात सर्वाधिक सफल रहे । उनले ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। पवन सर्राफ र मार्क वाटले समान २ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे ।यसअघि कर्णालीका लागि हुसैन तलातले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ३३ बलमा २ चौका र ३ छक्कासहित अविजित ५१ रन बनाएका थिए । अरिफुल इस्लामले १५ बलमा ३५ तथा गुल्सन झाले ६ बलमा १८ रन जोडेका थिए ।

बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका तलात खेलका मुख्य नायक बने । यस्तै कप्तान डेबिड मिलर ५ रनमा आउट हुँदा दिपक डुम्रेले ७ रन जोडे । सोमपाल कामी ४, मार्क वाट ६ रनमा आउट भएको खेलमा सचिन शर्मा शून्यमै पेभिलियन फर्किए । सात विकेट गुमेको अवस्थामा क्रिजमा आएका गुल्सन झाले दुई छक्का र एक चौका हिर्काएर ६ बलमा १८ रन जोड्दा आउट भए । कर्णालीलाई सस्तैमा समेट्न चितवनका लागि कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुईदुई विकेट हात पार्दा रिजन ढकाल र सिकन्दर राजाले एकएक विकेट हात पारे ।

Advertisement

चितवन प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ । यस जितसँगै कर्णालीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको कर्णालीले प्रतिष्ठाको खेलमा चितवनलाई हराएको हो । आजको जितसँगै कर्णालीले तेस्रो सिजन छैटौँ स्थानमा रहँदै टुंग्याएको छ । टोलीले सातमध्ये तीन खेलमा जित र चार हार व्यहो¥यो ।

चितवन भने शीर्ष दुईमा पुग्न असफल भएपछि एलिमिनेटर खेल्नेछ । कर्णालीसँगको हारले ७ अंक भएको चितवन तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेल्ने भएको हो । एलिमिनेटरमा चितवनले खेल्ने टोलीको भने टुङ्गो लाग्न बाँकी छ । आजै हुने दोस्रो खेलमा काठमाडौ पराजित भए एलिमिनेटरमा चितवन र काठमाडौ खेल्नेछन् । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top