जो रास्वपाको विदेश भ्रमण टोलीमा परेनन्, विदेश भ्रमणले रास्वपाभित्रै उठ्यो प्रश्न

२९ कात्तिक २०८३, आइतबार
Share this
757shares

२९ कार्तिक , काठमाण्डौ ।    विदेश भ्रमणमा पार्टीका नेता तथा सांसदहरूको बढ्दो सक्रियतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि देखिन थालेको छ। सरकारी खर्चमा हुने भ्रमणको औचित्य, त्यसबाट प्राप्त हुने उपलब्धि र राजनीतिक नैतिकतामाथि पार्टीकै सांसदहरूले सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। सांसदहरू गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले सामाजिक सञ्जालमार्फत विदेश भ्रमणको प्रवृत्तिप्रति असन्तुष्टि जनाएका हुन्। सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको टर्की जाने क्रम बढेको विषयलाई उठाएका छन्। उनले सम्मेलनमा सहभागी हुन जानेहरूको भ्रमण खर्च कसले व्यहोर्ने हो भन्ने विषय स्पष्ट पार्नुपर्ने बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘सधैँ झैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु।’ कार्कीले सरकारी खर्चमा भ्रमण गर्ने वा निजी तथा अन्य स्रोतबाट जाने भन्नेबारे सहभागीहरूले सार्वजनिक जानकारी दिनुपर्ने माग गरेका छन्।

Advertisement

‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून् । गर्नै पर्छ,’ उनले लेखेका छन्। सांसद ज्वाला संग्रौलाले पनि ठूलो संख्यामा विदेश भ्रमण गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्। विगतमा अन्य दलका नेताहरूले यस्तै अभ्यास गर्दा आलोचना गर्नेहरू अहिले आफैँ त्यही बाटोमा हिँड्न नमिल्ने उनको टिप्पणी छ। संग्रौलाले लेखेकी छन्, ‘हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत छ साथीहरू । हिजो अरूले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सही हुने भन्ने कहाँ लेखेको छ ?’सम्बन्धित देशले आफ्नै खर्चमा सांसद वा विज्ञलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमणलाई स्वाभाविक मान्न सकिने भए पनि राज्यकोषबाट रकम खर्च गरेर गरिने भ्रमण उचित नहुने उनको भनाइ छ। ‘सम्बन्धित मुलुकले खर्च बेहोरेर यति सांसद पठाइदिनु, त्यो पनि विज्ञ पठाइदिनु भनेर निमन्त्रणा गरेको हो भने ठीक छ । तर राज्यको धनराशि खर्च गरेर हामी उडेका हौँ भने यो तरिका हिजो पनि बेठीक हो र आज पनि,’ उनले लेखेकी छन्। आफू भ्रमणमा जान नपाएको कारण यस्तो टिप्पणी नगरेको स्पष्ट पार्दै उनले जनतामाझ पुगेर काम गर्नु नै बढी जिम्मेवारीपूर्ण हुने धारणा राखेकी छन्। सांसद आशिका तामाङले पनि सरकारी खर्चमा हुने विदेश भ्रमणको सीमा र त्यसबाट प्राप्त उपलब्धिबारे प्रश्न गरेकी छन्। संसदीय समितिको नाममा हुने भ्रमणको उद्देश्य र परिणामबारे सम्बन्धित सांसदहरू नै स्पष्ट नहुने अवस्था रहेको उनको गुनासो छ। राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणको प्रतिफल जनताले थाहा पाउनुपर्नेमा उनले जोड दिएकी छन्। भ्रमण उपलब्धिमूलक हुनुपर्नेमा त्यसको गतिविधि समुद्री किनारमा तस्बिर खिच्ने र टिकटक बनाउनेमै सीमित भएको हो कि भन्ने आशय उनले व्यक्त गरेकी छन्। प्रधानमन्त्री बालेन्द्र शाहनिकट मानिने सांसद राजु पाण्डेले पनि पद र जिम्मेवारीमा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने राजनीतिक संस्कारमाथि व्यंग्य गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘जिम्मेवारीरकुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ‘ अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी । जय मातृभूमि नेपाल।’रास्वपाका २० जना नेता तथा सांसदको टोली आज मात्रै चीन भ्रमणमा गएको छ। अर्कोतर्फ कोप–३१ मा सहभागी हुन नेपालका पाँच मन्त्री टर्कीए पुगेका छन्। जसमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले भने आज स्वदेश फर्किएका छन् । स्वास्थ्य मन्त्री समेत स्वदेश फर्किसकेकी छन् । पार्टी भित्रै नेताको विदेश भ्रमणलाई लिएर प्रश्न उठेपछि चीन उड्नु अघि महामन्त्री विपिन आचार्यले भने भ्रमण खर्च र भ्रमणको औचित्वमाथि प्रष्ट पारेका छन् ।आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश भ्रमणलाई लिएर रास्वपाका सांसदहरूले उठाउँदै आएका प्रश्नलाई विरोधका रूपमा बुझ्न नहुने बताए। उनकाअनुसार सांसदहरूले विदेश भ्रमणको औचित्य, त्यसमा राज्यकोषको सदुपयोग भए–नभएको र भ्रमणमा सही व्यक्तिहरू सहभागी भए–नभएको विषयमा प्रश्न उठाएका हुन् । उनले कुनैपनि देशको प्रतिनिधित्व गर्दै विदेश जाने व्यक्तिहरूको भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउनु स्वाभाविक भएको बताए । विदेश भ्रमणमा राज्यकोषको दुरुपयोग हुन नहुने र भ्रमणको औचित्य पुष्टि हुनुपर्ने विषयमा रास्वपाभित्रैबाट प्रश्न उठ्नु सकारात्मक भएको उनको भनाइ छ । आचार्यले चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको आफ्नो टोलीको भ्रमण पूर्णतः औपचारिक रहेको उल्लेख गर्दै नेपालबाट प्रस्थानदेखि स्वदेश फर्किने समयसम्मको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले नै गर्ने जानकारी दिए।

Advertisement

त्यसैले भ्रमणमा नेपालको राज्यकोष खर्च नहुने उनले स्पष्ट पारे। यसअघि पनि रास्वपाका सांसदहरूले विभिन्न सरकारी तथा राजनीतिक भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउँदै आएका थिए । महामन्त्री आचार्यले त्यस्ता प्रश्नलाई विदेश भ्रमणको विरोध नभई भ्रमणलाई जवाफदेही र परिणाममुखी बनाउन गरिएको सचेतनाका रूपमा बुझ्नुपर्ने बताए । आचार्यले भने, ‘विदेश भ्रमणको विरोधभन्दा पनि त्यसको औचित्य, राज्यकोषको सदुपयोग र उपयुक्त व्यक्तिको सहभागिताबारे सांसदहरूले प्रश्न उठाएको मेरो बुझाइ छ । कुनैपनि भ्रमणको उद्देश्य र त्यसमा भएको खर्चबारे प्रश्न गर्नु स्वाभाविक र आवश्यक कुरा हो । जहाँसम्म हाम्रो चीन भ्रमणको कुरा छ, यो कम्युनिस्ट पार्टी अफ चाइनाको निमन्त्रणामा हुन लागेको औपचारिक भ्रमण हो । हाम्रो जानेदेखि फर्किने समयसम्मको सम्पूर्ण लजिस्टिक व्यवस्थापन चीन पक्षले नै गर्ने भएकाले यस भ्रमणमा नेपालको राज्यकोषबाट खर्च हुनेछैन ।’ चीन भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले दुई देशका सत्तारुढ दलबीचको सम्बन्ध विस्तार, विपद्पछिको व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन उडेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । आचार्यले सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताए । उनकाअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि रास्वपाको प्रतिनिधिमण्डललाई चीन भ्रमणको निमन्त्रणा दिँदै आएको थियो । समय र कार्यतालिका मिलेकाले अहिले भ्रमण सम्भव भएको उनले जानकारी दिए । । महामन्त्री आचार्यकाअनुसार भ्रमण मुख्यतः तीनवटा विषयमा केन्द्रित हुनेछ । पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच पारस्परिक सम्बन्ध विस्तार तथा राजनीतिक अनुभव र ज्ञान आदानप्रदान गर्ने विषय रहेको छ । दोस्रो प्राथमिकतामा विपद्पछिको व्यवस्थापन रहेको छ । नेपाल भूकम्प, बाढीपहिरो तथा हिमाली क्षेत्रमा देखिने ठूला प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै आचार्यले चीनले यस्ता विपद्को सामना र व्यवस्थापन कसरी गर्छ भन्ने विषयमा अध्ययन तथा अनुभव आदानप्रदान गरिने बताए । त्यस्तै, तेस्रो विषयका रूपमा व्यापार, व्यवसाय र अर्थतन्त्रसँग सम्बन्धित बहुआयामिक पक्षमा छलफल गरिनेछ । यसअघि चीन जाने टोलीले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top