सिमकोटमा महिना दिनदेखि विद्युत् अवरुद्ध, सोलार ब्याट्रीको खपत बढ्यो

२६ असोज ७८, मंगलबार
Share this
717shares

२६ असाेज, सिमकोट।

Advertisement

हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन् ।

सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका अधिकांश नागरिक लामो समयदेखि उज्यालोबाट वञ्चित हुनु परेपछि यतिखेर दैनिक दिन सोलार तथा ब्याट्रीको जोहो गर्न थालेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सिमकोट–१ देखि ७ सम्मका स्थानीयवासी सोलार टुकीको खोजीमा सदरमुकाम पुग्ने गरेका छन् ।

Advertisement

विद्युत् बन्द भएको एक हप्ता यतादेखि बजारका विभिन्न सोलार पसलमा सोलार किनबेच गर्ने सेवाग्राहीको घुइँचो लाग्न थालेको छ । दैनिक एउटा पसलमा मात्रै कम्तीमा पनि १५ देखि ३० वटासम्म सोलार बिक्री हुने गरेको एयरपोर्ट चोकमा रहेको कुम्मेर सोलार तथा ब्याट्री पसलका प्रोप्राइटर टेकबहादुर रावतले बताए ।

विद्युत् अवरुद्ध भएपछि बल्ब, सोलार, ब्याट्री र कन्भर्टरलगायतका सामग्री बिक्री बढेको रावतले बताए। जिल्लामा बन्द भएको विद्युत् मर्मत कार्य भइरहेको भए पनि कहिले सञ्चालन हुने हो त्यसको भने यकिन हुन नसकेको बताइएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामका सबै इलेक्ट्रोनिक पसल र घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

Advertisement

दसैँमा सिमकोट अँध्यारो

नेपालीको महान् पर्व दसैँको समयमा हुम्लाको सदरमुकाम सिमकोट अँध्यारो बनेको छ । झण्डै एक महिनादेखि अवरुद्ध बनेको विद्युत् सेवा समयमै मर्मत हुन सकेको छैन । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् विस्तार गरेको हेल्दुङ साना जलविद्युत् आयोजनाको नहर गत भदौ २१ गते राति भत्किएपछि स्थानीयवासी अध्याँरोमा दसैँ मनाउन बाध्य भएका हुन् । अविरल वर्षाका कारण पहिरो गएपछि आयोजनाको नहर भत्किएको थियो । नहर मर्मत गरी एक साता विद्युत् सेवा सञ्चालन गरिए पनि फेरि भत्किएको हो । बत्ती नहुँदा ठूलो सास्ती भोग्नुपरेको राज बहादुर बोहराले बताए ।

दसैँको समयमा विद्युत् आपूर्ति बन्द हुँदा वर्षमा एक पटक आउने चाड राम्रोसँग मनाउन नपाएर अध्याँरोमै मनाउन बाध्य भएको बोहराले गुनासो पोखे । हुम्लाको विद्युत् प्राधिकरण कार्यालयले मर्मतका नाममा करोडौँ रकम खर्च गरे पनि स्थायित्व हुने गरी बनाउन नसकेको हो । गत वर्षसमेत हुम्लीले अध्याँरोमा दसैँ मनाएका थिए भने वर्षसमेत अध्यारोमा मनाउन बाध्य भएका छन् ।

विद्युत् भार कटौतीको भार खेप्नुपर्ने समय सुरु

अब चिसो समय सुरु भएसँगै हिउँदको याममा सिमकोटमा बसोबास गर्ने नागरिकले फेरि विद्युत् भार कटौतीको भार खेप्नुपर्ने समय आएको छ । हिउँदमा खोलाको पानी कम हुँदै जाने र विद्युत् आपूर्तिका लागि आवश्यक पर्ने पानी नभएका कारण मङ्सिरदेखि वैशाखसम्म यहाँका नागरिकले दैनिक १८ देखि २० घण्टासम्म विद्युत् भार कटौतीको भार खेप्नुपर्ने हुन्छ ।

यो समय बिजुली नहुँदा दैनिक कामकाज प्रभावित भएका छन्, बालबालिकाको पढाइ अवरुद्ध भएको छ । बत्ती नहुँदा सानो कामका लागि पनि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता छ भने सिमकोटमा बेलाबेलामा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ ।

मोबाइल चार्जको एक सय

महिना दिन बढीदेखि विद्युत् आपूर्ति हुन नसक्दा सिमकोटमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीले एक मोबाइल चार्ज गरेबापत रु १०० लिने गरेका छन् । समयमै विद्युत् मर्मत हुन नसक्दा दसैँको समयमा फोन सम्पर्क तथा शुभकामना आदानप्रदानलगायत अति आवश्यक काम पर्ने भएका कारण रु १०० तिरेर पनि चार्ज गर्नुपर्ने बाध्यता बजारबासीको रहेको छ ।

महँगो रकम तिरेर जेनेरेटर चलाउनुपर्ने भएपछि स्थानीय व्यापारीले रु १०० लिएर मोबाइल चार्ज गरिदिने गरेका छन् । व्यवसायी भने रु ३५० प्रतिलिटर इन्धन किनेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन् । हुम्लामा सञ्चालित दुई रेडियोले पनि आफ्नो प्रसारण बन्द गरेका छन् ।

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गरेर सञ्चालनमा ल्याउनका लागि नेपाल विद्युत् प्राधिकरण कार्यालयले कुनै चासो देखाएको छैन । वर्षमा एक पटक आउने चाड भएका कारण सबै कर्मचारी दसैँ मनाउन व्यस्त हुँदा सेवाग्राहीले अँध्यारो बस्नुपरिरहेको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top