विराटनगर, साउन १५
केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले आज देशैभर विरोध प्रदर्शन गरेको छ । मोरङ कांग्रेसले पनि विराटनगरमा विरोध प्रदर्शन र सभा आयोजना गरेको छ ।
वीरेन्द्र सभागृह अगाडिबाट निस्किएको विरोध जुलुस जिल्ला प्रशासन, गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक हुँदै जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सरकार ढाल्न नभई सरकारलाई सही बाटोमा हिडाउन कांग्रेसको आन्दोलन गर्नुपरेको बताए ।
उनले वर्तमान सरकारबाट संविधानसमेत खतरामा परेको दाबी गरे । सरकारले जनतालाई सपनामात्रै बाँडेको आरोप लगाए । त्यस्तै केन्द्रीय सदस्य अमृत अर्यालले जनताको भावनाअनुसार सरकार नचलेका कारण कांग्रेसले सडक आन्दोलन गर्नुपरेको बताए ।
सञ्चारमाध्यम र प्राज्ञिक क्षेत्रमाथि सरकारले हस्तक्षेप गरेर अधिनायकवादको सुरुवात गरेको अर्यालले दाबी गरे । त्यस्तै केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले नेपाली महिलामाथि अपमानित गरेको आरोप लगाए ।
सभामा आमन्त्रित केन्द्रित सदस्य सहन अन्सारी, कांग्रेस नेता अशोक कोइराला, तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा सञ्जय, टे«ड युनियन कांग्रेसका अध्यक्ष सुशील कोइरालालगायतले राणा, पञ्चायत र राजातन्त्र अन्त्य गरेको कांग्रेसलाई कम्युनिष्ट सत्ता अन्त्य गर्न कुनै गाह्रो नपर्ने चेतावनी दिए ।