पर्यटन प्रचार गर्न मनाङको ‘साइक्लिङ’

४ कात्तिक ७८, शुक्रबार

५ कात्तिक, मनाङ।

लामो समय कोभिड– १९ को सङ्क्रमण न्यूनीकरणपश्चात् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङ्को भ्रमणमा आएका छन् ।

उक्त समूहका सदस्यले बेमौसमी वर्षाका बाबजुद पनि बिहीबारदेखि यात्रा थालेका हुन्। अन्नपूर्ण पदमार्गको प्रवर्द्धनका साथै भ्रमण गरी पर्यटकलाई यात्राका बारेमा जानकारी दिने र आवश्यक प्रचारप्रसार गर्ने उद्देश्यले यत्रामा निस्किएको समूहका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

Advertisement

उनका अनुसार सबैभन्दा अग्लो स्थान (४९१९ मिटर)मा रहेको तिलिचो तालसम्म साइकलका माध्यमबाट नै पुग्ने योजना रहेको छ। उनीहरुले १३ दिने प्याकेज बनाएर तिलिचो ताल र अन्नपूर्ण पदमार्गको भ्रमणमा निस्किएका हुन्। पहिलो दिनमा पोखराबाट यात्रा सुरुआत गरी लमजुङको बेंसीशहर हुँदै स्यागेमा पुगेर रात बसेको र दोस्रो दिन स्यागेबाट धारापानीसम्मको यात्रा भइरहेको पौडेलले बताए ।

उक्त समूह शुक्रबार हिमाली जिल्ला मनाङको धारापानीमा पुगेर बस्ने उनले बताए। “बेमौसमी वर्षाले मनाङका सडकमा धेरै समस्या रहेको छ। पर्यटन आउने मौसममा नै सडकको समस्याले धेरै असर गरेको छ। जिल्लामा भित्रिने पाहुनालाई सहज बनाउनका लागि जिल्लावासी र सम्बन्धित निकाय सजग हुनुपर्ने देखिएको छ”, संयोजक पौडेलले भने, “पदमार्गसँगै सडकमा पैदलयात्रा गर्नसमेत समस्या भएको पायौँ, सायद मौसममा सुधार भएमा सहज हुनेछ भन्ने अपेक्षा छ ।”

Advertisement

पोखराका १२ साइकलयात्री साइकल यात्रामा निस्किएका हुन्। उनीहरु शनिबार धारापानीबाट मनाङको सदरमुकाम चामे आइपुग्नेछन्। आइतबार चामेबाट मनाङ गाउँ पुग्ने तालिका रहेको छ। त्यस्तै सोमबार मनाङ गाउँबाट तिलिचो बेसक्याम्प, मङ्गलबार तिलिचो बेसक्याम्पबाट याक खर्कसम्मको यात्रा गर्नेछन् ।

त्यसैगरी, बुधबार बेसक्याम्पबाट थोराङ्ला पास, बिहीबार थोराङ्ला पासबाट मुक्तिनाथको यात्रा तय गर्ने योजनासहित साइकलयात्रीको समूह भ्रमणमा निस्किएको अर्का संयोजक धरमबहादुर लामिछानेले जानकारी दिए। उनका अनुसार शुक्रबार मुक्तिनाथदेखि मार्फा, शनिबार मार्फादेखि तातोपानी, आइतबार तातोपानीदेखि गोडेपानी र सोमबार गोडेपानीदेखि पोखरा पुगेर यात्राको समापन गर्ने योजना रहेको छ ।

मौसममा केही सुधार भएपछि मनाङमा पर्यटनलाई तिलिचो तालसम्म जान दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम भएकाले पनि मौसमको अनुकूलताअनुसार पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पाससम्म गर्न दिइएको उनले बताए ।

“मौसम अनुकूल भएको अवस्थामा पर्यटकलाई आवतजावत गर्न दिइएको छ। सुरक्षा व्यवस्था पनि गरिएको छ। सबै स्थानमा सडक सहज नभए पनि सुरक्षित यात्रा गर्ने वातावरण बनाउनतर्फ लागिपरेका छौँ। मौसम सुधार भएपछि भने सडकको पनि मर्मत गर्ने तयारीमा रहेका छौँ”, प्रजिअ आचार्यले भने । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top