विराटनगर,साउन २१
समयमा वितरण नगरिएका कारण फिर्ता गएको बाढी पीडितको राहत रकम फेरिपनि निकासा गराउन पहलगर्ने उद्धेश्यले कटहरी गांउपालिकाले बाढीपीडित राहत वितरण सहजीकरण समिति गठन गरेको छ ।
गांउपालिकाले आज पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी दिएको हो । समितिमा गांउपालिकाका प्रमुख रामकुमार कामतसहित बाढीपीडित संघर्ष समितिका संयोजक मृत्यूञ्जय झा रहेका छन् ।
७ सदस्यीय समितिमा गांउपालिकाको तर्फबाट तीन जना र संघर्ष समितिको तर्फबाट ४ जना रहेका छन । सो बिषयमा जानकारी दिदै गांउपालिकका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले गांउपालिका प्रमुख कामतको संयोजकत्वमा रहेको सो समितिले फिर्ता गएको बाढीपीडितको राहत रकम फिर्ताल्याउन स्थानीय र केन्द्र सरकारमा पहल गर्ने बताए ।
कटहरी गांउपालिकाका प्रमुख कामतले बाढी पीडितकालागि आएको रकम कुनै दुरासयले नभई समन्वयको कारणले समयमा वितरण गर्न नसकिएको दाबी गरे । उनले राहत रकम फेरिपनि निकासा गराउन आफुहरु लागिपरेको बताए ।
सो गांउपालिकाका १५ सय १७ बाढी पीडित परिवारकालागि आएको ३ करोड ७९ लाख २५ हजार रकम फिर्ता गएपछि गांउपालिकामा तनाव भएको हो । गांउपालिकाले बाढी पीडितकालागि आन्तरिक कोषबाट ६३ लाख बढीको राहत वितरण गरेको जनाएको छ ।