२४ कात्तिक, इटहरी ।
सुनसरी नेकपा एमालेमा २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर पक्ष र विपक्षबीचको विवादले उग्र रूप लिएको छ । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ।
२ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो ।
बुधबार निरौलाले कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका छन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ ।
चौधरीको हातबाट पुन: माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि कार्यक्रमस्थल तनावग्रस्त भएकाे थियाे । माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडेका छन् । उनले बैठक बहिष्कार गरेको बताएका छन् ।
उनले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गरेका छन् । चौधरीले माइक खोसे पनि बैठक भने रोकिएको छैन । चौधरीले मंगलबार जिल्ला बैठक आफ्नो अध्यक्षतामा हुने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।