२४ कात्तिक, काठमाडौं ।
नेकपा (एमाले) परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । उनले बुधबार वज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएकोले फिर्ता लिन अमेरिकालाई आग्रह गरेका हुन् ।
‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’
नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।अमेरिकालाई नेपाली जनताले राम्रो मान्दै आएको र एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिएको देखिन्छ । ‘सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ,’ गौतमले भनेका छन् ।