विराटनगर, साउन २५
युरोपियन क्लब फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । युरोपका धेरैजसो क्लबले आजदेखि झण्डै ९ महिना लामो फुटबल लिगको सुरुवात गरिरहेका छन् । विश्वका ठूला र चर्चित लिगमध्ये प्रिमियर लिग र फ्रेञ्च लिग वान आजदेखि सुरु हुँदा स्पेनिस ला लिगा र इटलीयन सिरि ए अर्को साता तथा जर्मन बुण्डेस लिग दुई सातापछि सुरु हुँदैछ ।
विश्वकै ठूलो मानिने इंग्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार आज राति पौने १ बजे पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दैछन् ।
खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डबाट प्रिमियरलिगको नयाँ सिजन सुरु हुनेछ । यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्ह्याम कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वण्डरर्स रहेका छन् । गएको सिजनको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोलीले प्रिमियर लिगमा स्थान बनाएका हुन् ।
यसैगरी शनिबार अपरान्ह सवा ५ बजे क्यूक्यासल र टोटनह्याम भिड्नेछन् । शनिबार राति पौने ८ बजे ४ वटा खेल हुनेछन् । जसमा एएफसी बर्नमाउथ र कार्डिफ, फुलह्याम र क्रिस्टलप्यालेस, चेल्सी र हडर्ल्सफिल्ड टाउन तथा वार्टफोर्ड र ब्राइटन आमने सामने हुनेछन् । राति सवा १० बजे एभर्रटन र वोल्भरह्याम्पटन वन्डरस एफसी भिड्ने छन् ।
प्रिमियरलिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । गत सिजनमा स्वन्सी सीटी, स्टोक सीटी र वेस्ट ब्रोम रेलिगेशनमा परेका थिए । यसैगरी फ्रान्सेली लिग वान फुटबल लिग पनि आजैदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो खेलमा आज राति साढे १२ बजे ओलम्पिक मार्सेली र टोलोज आमने सामने हुँदैछन् ।