आइसीसीले ह्वात्तै बढायो क्यानलाई दिने बजेट

२२ मंसिर, काठमाडाैँ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले नेपाल क्रिकेट संघ(क्यान)लाई दिने बजेटमा ह्वात्तै वृद्धि गरेको छ। क्यानले यसपटक आइसीसीकै गाइडलाइन अनुसार काम गरेको भन्दै आगामी वर्ष २०२२ का लागि आइसीसीले ५ लाख ७२ हजार डलर रकम वृद्धि गरेको हो।

योसँगै क्यानले समग्रमा १३ लाख २० हजार डलर बजेट पाउने तय भएको क्यानका कोषाध्यक्ष रोशन सिंहले क्रिकनेपाललाई बताए। गतवर्षे क्यानले ७ लाख ४८ डलर वार्षिक बजेटमात्रै नेपाललाई दिएको थियो।

सिंहले भने, ‘हामीले सम्पूर्ण कार्यक्रम आइसीसीकै मापदण्डअनुसार, उसले तोकेको ढाँचामा पारदर्शी ढंगबाट सम्पन्न गरेका थियौं । हामीले गरेको मिहिनेतको परिणाम अहिले देखिएको छ। मेरो विचारमा क्यानले पाएको यो अहिलेसम्मकै ठूलो बजेट हो।’

क्यानले आइसीसीको मापदण्ड अनुसार चिफ फाइनान्स अफिसर, जनरल म्यानेजर, क्रिकेट म्यानेजर नियुक्त गरेकाे थियो। त्यसबाहेक क्यानले दाङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट, काठमाडौंमा पीएम कप र मेयर कप राष्ट्रिय क्रिकेट, काठमाडौंमा त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ।

Scroll to Top