विराटनगर,साउन २७
एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सरकार विस्तार गरिने बताएका छन् । प्रदेशसभा बैठकको शुन्य समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले बर्षे अधिवेशन भित्रै प्रदेशको नाम, राजधानी र सरकार विस्तारको काम टुङ्गो लगाउने बताए । धेरै वटा मन्त्रालयलाइ गाभेर एउट मन्त्रालय बनाइएको र काम गर्न असहज भएको भन्दै उनले संविधान, जनचाहना र आवश्यकताका आधारमा मन्त्री मण्डल विस्तार गरिने जानकारी दिए ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनले विस्तार हुने मन्त्री मण्डल महिलाको सहभागिता सुनिश्चित गरिने पनि जानकारी दिए । साथै प्रदेश भित्रका सबै सरकारी निकायले प्रदेश सरकारको निर्णय र कानुन मान्नु पर्ने बताउँदै उनले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्न संघिय सरकारलाइ सोधिरहनु नपर्ने उल्लेख गरे ।