काठमाडौं, साउन २९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश र जिल्ला कमिटी बराबरीकै हैसियतमा एकता हुने भएका छन् । भदौ दोस्रो सातासम्म एकीकृत भइसक्न केन्द्रले निर्देशन दिएपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट बराबर सदस्य समेटेर कमिटी निर्माण गर्न लागिएको हो ।
केन्द्र र संघको निर्वाचनमा दुई पार्टीले बाम गठबन्धन गर्दा ६०–४० को भागबण्डा गरेका थिए । प्रदेश सरकार गठनमा ७०–३० भागबण्डा गरेका उनीहरुले केन्द्रमा दुई दल एकतापछि भने जिल्ला र प्रदेशमा आधा–आधा हिस्सेदारीमा कमिटी गठन गर्ने तयारी गरेका हुन् ।
एकीकरण गर्दा विगतको एमाले र माओवादी नभई अहिलेकै नेकपाका नेता–कार्यकर्ताको हिसाबमा र उनीहरुको योग्यता, क्षमता, आवश्यकता, वरिष्ठताका आधारमा कमिटीमा सिफारिस गरिएको स्थायी समिति सदस्य वेदुराम भुसालले जानकारी दिए । ‘दुई–चार संख्या तलमाथि भए पनि आमरुपमा प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गर्दा बराबरीकै आधारमा दुवैतर्फबाट सदस्यहरु समेटेर प्रदेश र जिल्ला कमिटी गठन हुँदै छ,’ उनले भने ।
प्रदेश १ मा पूर्वमाओवादीले केही संख्या कम सदस्य पाए पनि अरु प्रदेश कमिटीमा बराबर सदस्य सिफारिस भएका छन् । उता, कर्णाली प्रदेश कमिटीमा भने पूर्वएमालेभन्दा पूर्वमाओवादी तर्फका सदस्य बढी रहनेछन् ।