विराटनगर, साउन २९
सिमाक्षेत्रमा लागूऔषधको अवैध कारोबार रोक्न माग गर्दै भारतीय बजार जोगबनीमा प्रदर्शन भएको छ । नशामुक्ती आन्दोलन समितिको अगुवाईमा प्रदर्शन भएको हो ।
समिति आबद्ध नेपाल तथा भारततर्फका अभियन्ताहरुले विराटनगरको सिमाबर्ती बजार जोगबनीको नो मेन्स ल्याण्डमा धर्ना दिंदै प्रर्दशन गरेका हुन् । धर्ना दिने क्रममा उनीहरुले लागूऔषधको कारोबार रोक्न माग गर्दै स्थानिय प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन ।
धर्ना प्रर्दशनमा सहभागि नशामुक्ती आन्दोलनका अभियन्ता एवम जोगबनी नगर पञ्चायत, चेयरमैनका प्रतिनिधि राजु रायले जोगबनी बजारमा मौलाएको लागूऔषधको कारोबारले नेपाल र भारत दुवैतर्फका युवाहरु कुलतमा फस्दै गएको बताए ।
उनले जोगबनी नगर पञ्चायतको वडानम्बर–९ इन्दिरा नगरमा खुलेआम लागुऔषधको कारोबार हुने गरे पनि प्रशासनले नदेखैंझैं गरेको जानकारी दिए । भ्रष्ट प्रहरीकै संरक्षणमा लागूऔषधको कारोबार फस्टाएको उनको दाबी छ ।
नशामुक्ती आन्दोलनका नेपालतर्फका प्रतिनिधि मोहम्मद मुस्लिम मियांले सो क्षेत्रमा हुने लागुऔषधको कारोबारबाट नेपाली युवाहरु प्रत्यक्ष प्रभावित भइरहेको बताए ।