Nepal Times
Nepal Times
3
Shares

सीसीएमसीसीको सिफारिसअनुसार जमघट, सभासम्मेलन, मेलामहोत्सवमा कडाई गरिने

सीसीएमसीसीको सिफारिसअनुसार जमघट, सभासम्मेलन, मेलामहोत्सवमा कडाई गरिने

२६ पौष, काठमाडौँ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार जमघट, भेला, सभा, सम्मेलन र मेला महोत्सवमा कडाइ गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न लागिएको बताए ।

सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

यस्तै राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ ।

बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यस्तै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गर्न सिफारिस भएको छ ।

हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जानकारी दिए ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

यस्तै सार्वजनिक ठाउँमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.