२६ पौष, काठमाडौँ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्दैछन् ।
त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १ सय १७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९.१ ओभरमा १ सय १६ रनमा अल आउट भयो ।
आर्मीका कप्तान विनोद भण्डारीले १७ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २९ रन बनाए । हरि चौहानले २१ बलमा ३ चौकासहित २० रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । आर्मी सोनु तामाङ क्रिजमा नआई रिटायर्ट हर्ट भएका थिए ।
ओपनर सोमपाल कामी १५ बलमा ९ रन, रोहित कुमार पौडेल र कुशल मल्ल १०–१० रन बनाए । तल्लोक्रमका राजेश पुलामी मगर २, विक्रम सोब १, सुशान भारी ८, साहव आलम ९ र जितेन्द्र मुखियाले ८ रन बनाए ।
सुदूरपश्चिमका प्रकाश जैशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अनुज चनाराले ३.१ ओभरमा १ मेडन सहित २२ रन खर्चेर २ विकेट लिए । दीनेश अधिकारी, रविन्द्रजंश शाही र राज शाहले १–१ विकेट लिए ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । समूह ’ए’ मा आर्मी क्लब, पुलिस क्लब, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।
यस्तै समूह ’बी’ मा एपीएफ क्लब, वाग्मती प्रदेश, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।