२६ पौष, एजेन्सी । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग ब्यास लिग २०२१/२२ को ४४ औं खेलमा सिड्नी थन्डरविरुद्ध विकेट विहीन बनेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्स सिड्नी थन्डरसँग ९ विकेटले पराजित भएको छ ।
१ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले १७.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सिड्नीको जितमा एलेक्स हेल्सले ५६ बलमा ११ चौका र १ छक्कासहित ८० रनमा अविजित रहे ।
कप्तान ज्यासन संघाले ३१ बलमा १ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे । सन्दीप लामिछानेले ३.२ ओभरमा २१ रन खर्चे पनि विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । होबार्टका बेन म्याकडर्मोट ३४ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाए । डार्सी शर्टले २४ बलमा ३ चौका २९ रन बनाए । पिटर ह्वान्डस्कम्ब २१, टिम डेविड र जोर्डन थोम्पसनले १५–१५ रन बनाए । नाथन म्याकएन्ड्रयु र गुरिंदर सन्धुले २–२ विकेट लिए ।
सन्दीपको प्रदर्शन
सन्दीपले छैटौं ओभरमा चार रन खर्चिदै राम्रो सुरुवात गरेका थिए । पहिलो बल हेल्स र दोस्रो बलमा संघालाई एक एक रन दिए । तेस्रो र चौथो बलमा सन्दीपले डट राखे । पाँचौं र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिएका थिए ।
सन्दीपले आठौं ओभरमा नौं रन खर्चिए । पहिलो बल संघालाई डट राखेपनि दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन खर्चिए । चौथो बलमा एलेक्स हेल्सलाई चौका प्रहार गरे । पाँचौं बल सन्दीपले डट राख्दा अन्तिम बलमा दुई रन दिए ।
दशौं ओभरमा सन्दीपले पाँच रन खर्चिए । १८ औं ओभरको पहिलो बल डट राख्दा दोस्रो बलमा संघाले सन्दीपलाई चौका प्रहार गर्दै खेल जिताए ।
होबार्टले अव १३ जनवरीमा सिड्नी थन्डरसँगनै खेल्नेछ । होबार्ट ११ खेलमा ५ मा जित र ६ मा हार सहित चौथो स्थानमा छ ।