२८ पौष, एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् ।
पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमण दर उच्च छ । तर तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको छ ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले केन्द्र सरकारलाई कोरोनाको बढ्दो सङ्क्रमणबारे पूर्ण जानकारी रहेको तर तत्काल पुनः लकडाउन वा विद्यालय बन्द गर्ने अवस्थामा नरहेको बताएका छन् । अर्को लकडाउनको बोझ देशको अर्थतन्त्रले बोक्न नसक्ने उनको भनाइ छ ।
कोरोना भाइरसको सामना गर्न सरकारले स्वास्थ्य मापदण्ड र खोपमा जोड दिएको मन्त्री चौधरीले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तान सरकारले खोपका लागि झण्डै दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ ।