विराटनगर,साउन २९
सरकारले बायोग्यासबाट करिब २८ मेगावाट विद्युत उत्पादन गर्न ३ कम्पनीलाई अध्ययन अनुमतिपत्र दिएको छ । मिश्रित ऊर्जा विकासलाई प्राथमिकता दिँदै सरकारले आयोजनालाई अनुमतिपत्र दिइएको हो ।
विद्युत विकास विभागले दुई नेपाली र एउटा चिनियाँ कम्पनीलाई बायोग्यासबाट २७।९ मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमतिपत्र दिएको छ । विभागका अनुसार कास्कीको पोखरामा ७.९ मेगावाट, १८ मेगावाट मकवानपुर, रामेछापको मन्थली लगायत ठाउँमा र २ मेगावाट मोरङ डङग्राहमा उत्पादन गर्नका लागि अध्ययन भइरहेको छ ।
यसका लागि विभागले गोल्ड रस, चीनको ग्वान्जाउ डेभोसन थर्मल टेक्नोलोजी र बालाजी बायोमास ब्रिकुइटल इनर्जी कम्पनीलाई अनुमती दिएको छ ।बायोमास (बायोग्यास) बाट १८ मेगावाट विद्युत उत्पादन गर्न मकवानपुरको टिस्टुङ देउराली, नमतार, मार्ता पञ्चदेवी, मार्खु, कुलेखानी, चित्लाङ तथा रामेछापको मन्थली, पदमा पोखरी लगायत ठाउँ छनोट गरिएको छ । गोल्ड रसले २०७० कात्तिक ३ गते, ग्यान्जाउ डेभोसनले २०७३ पुस २० गते र बालाजीले २०७४ असोज १ गते विभागबाट अनुमतिपत्र लिएका हुन् । सबै कम्पनीले अनुमतिपत्र लिएको मितिबाट सुरु गरेर २ वर्षभित्र तोकिएका आयोजनाको अध्ययन पूरा गर्नुपर्ने हुन्छ ।