काठमाडौं,साउन २९
१८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको ३० प्रतिशत निर्माण पूरा भएको छ । सोलुखुम्बुको सोलु खोलामा निर्माणाधीन यो आयोजनाको १८ महिनाको अवधिमा बाँध क्षेत्रमा सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार बाँधको ७० प्रतिशत निर्माण सकिएको छ ।
२ हजार ४ सय मिटर लामो मुख्य सुरुङ ७ सय मिटर खनिएको छ । दशैंपछि ‘आउट लेट’ बाट पनि खन्न सुरु गरिने प्रवद्र्धक बेनीखोला हाइड्रो प्रोजेक्ट कम्पनीले जनाएको छ ।मनसुन सकिएपछि विद्युतगृहमा जग खन्न सुरु गरिने भएको छ । वर्षा याममा हिलाम्य सडकका कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएकाले कामले गति लिन नसकेको मानन्धरले बताए ।
२०७३ फागुनबाट निर्माण सुरु भएको आयोजना अबको १८ महिनामा पूरा गर्ने लक्ष्य छ । आयोजना पूरा भएपछि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजना सम्पन्न गर्न ३ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
आयोजनामा ४ बैंकले २ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् भने १ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । निर्माण सुरु भएको डेढ वर्षको अवधिमा अहिलेसम्म आयोजनामा स्वपुँजी लगानीमार्फतको रकम खर्च भइरहेको कम्पनीले जनाएको छ ।