विराटनगर,साउन ३०
देशका विभिन्न ठाउँमा झरी पर्ने क्रम नरोकिएकोले ठुला नदीमा बाढी आउने खतरा देखिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सप्तकोसी, अरुण, नारायणी, तमोर, सुनकासी, कालीगण्डकी लगायत नदीमा बाढीको खतरा रहेको हो ।
महाशाखाका अनुसार देशका सबै प्रमुख नदीमा अहिले बहाबको अवस्था सतर्कता तहभन्दा माथि रहेको र अन्य मझौला तथा साना नदीमा पनि बहाब बढ्दै गएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । तराईको सप्तरी, सुनसरीमा पनि बाढीको खतरा उच्च देखिएको छ ।
सप्तकोसीको चतरा, अरुण नदी–सीम्ले, सुनकोसी नदीको हम्पचुवार बाढी मापन केन्द्रका अनुसार बुधबार साँझसम्म प्रमुख नदीमा बहाब सतर्कता तह नाघ्ने सम्भावना रहेको छ ।त्यस्तै, बागमती, कालीगण्डकी लगायत नदीमा बुधबार मध्यान्हपछि बहाब सतर्कता तह पार गर्न सक्ने मौसम विभागले जनाएको छ ।
मौसम विभागका अनुसार बुधबार देशभर मौसम बदली भई राती पश्चिम र मध्य भागको केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । नदीमा बाढी आउने खतारा भएकोले नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।