काठमाडौं,साउन ३१
सरकारले सोलारबाट विद्युत उत्पादन गर्न ४१ कम्पनीलाई अध्ययन अनुमतिपत्र दिएको छ । करिब २ सय मेगावाट विद्युत उत्पादन गर्न २ वर्षभित्र अध्ययन पूरा गर्ने गरी अनुमतिपत्र दिइएको हो ।
विभागका अनुसार २० मेगावाटको एक, १० मेगावाटका ५, ८ मेगावाटका ५ तथा अन्य साना आयोजनाबाट विद्युत उत्पादन गर्न अनुमति जारी गरिएको छ । २० मेगावाटको सोलार प्लान्ट कन्ट्री डेभेलपमेन्ट कम्पनीले दाङको तुलसीपुरमा अध्ययन गरिरहेको छ ।
मिथिला, लम्की, अत्तरिया, युटिलिटी तथा मिथिला–२ सोलार पावर कम्पनीले १०/१० मेगावाटका लागि धनुषा, मोरङ र कैलालीमा अध्ययन गरिरहेका छन् । नुवाकोट, नवलपरासी, सुनसरी, रुपन्देशी, सिराहा, मकवानपुर, धादिङ, झापामा पनि सोलारबाट विद्युत उत्पादन गर्न अध्ययन भईरहेको छ भने संखुभासभा, वीरगन्ज, तनहँु, कपिलवस्तु, गुल्मी, कैलाली र काठमाडौंमा पनि अध्ययन भइरहेको छ ।
सोलारबाट विद्युत उत्पादन गर्न २०७५ सालको असार र साउनमा ९ कम्पनीले अध्ययन अनुमतिपत्र लिन आवेदन दिएका छन् । ती कम्पनीले करिब ५१ मेगावाट विद्युत निकाल्न पोखरा, धादिङ, बर्दिया, नवलपरासी र झापा छनोट गरेका छन् । देशमा अहिलेसम्म बिष्णु प्रिय सोलार फर्मले मात्र सोलारबाट विद्युत उत्पादन गर्न अनुमती लिएको छ । यसले नवलपरासीको रामनगरमा काम गरिरहेको छ ।