Nepal Times
Nepal Times
3
Shares

एमालेबाट ९९ प्रतिशत मेयरको उम्मेदवार म हुँ : सागर थापा

एमालेबाट ९९ प्रतिशत मेयरको उम्मेदवार म हुँ : सागर थापा

स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा आगामी कार्यकालको मेयर को होला भन्ने चर्चा चुलिएको छ । यतिबेला दलहरु चुनावी रणनीति र उम्मेदवार छान्ने कसरतमा लागेका छन् । विराटनगरको मेयर पदको उम्मेदवारका आकांक्षीहरु टिकटका लागि दौडधूप गरिरहेका छन् । नेकपा (एमाले) विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले पनि मेयर पदमा दावेदारी गरेका छन् । उनको दावेदारी पार्टीले अनुमोदन गर्ने संभावना उनी कति देख्छन् ? उनी मेयरका उम्मेदवार बने भने विराटनगरका लागि उनका योजना के छन् ? लगायतका प्रश्नको सेरोफेरोमा नेपाल टाईम्सका किशोर विश्वकर्माले थापासँग गरेको कुराकानीको सम्पादित अंश ।

यसपटक एमालेबाट विराटनगरको मेयर पद्को उम्मेदवार तपाईँ हो ?
पार्टीले निर्णय गरेर दियो भने म उम्मेदवार हो । मैले उम्मेदवार हुँ भन्न मिल्दैन ।

अघिल्लो पटकनै तपाईको चर्चा चलेपनि अन्तिम समयमा पार्टी नेता विनोद ढकालले टिकट पाउनुभएको थियो । यसपटक के हुन्छ ?
अघिल्लो पटक मेरोचाहीँ दाबेदारी थियो । यसपालि मेरो स्वभाविक उम्मेदवारी हुन्छ । स्वभाविक उम्मेदवारी भित्र पनि निर्णय पार्टीले गर्नुपर्छ । निर्णय हाइकमाण्डले गर्दैछ । कार्यकतालाई निर्णय गर्न दियो भने स्वभाविकरुपमा मलाईनै अघि सार्ने निश्चित छ । ९९ प्रतिशत कार्यकर्ताले सागर थापा भन्छन् ।

तपाई उम्मेदवार भएको खण्डमा निर्वाचन जित्ने सम्भावना के छ ? त्यसका आधारहरु के हुन् ?
म उम्मेदवार भएको खण्डमा भन्दा पनि आज हामी जुन गतिमा छौँ, त्यो गतिले रिजल्ट निकाल्दाखेरी को पात्र उम्मेदवार हुँदाखेरी जित्ने भन्दा पनि जो कोही उठाएपनि हामी चुनाव यसपालि जित्छौँ । फरक यत्ति हो, सागर थापा उठ्दाखेरी अलिक बढी भोट ल्याउँछ ।

विराटनगरका जनताको आकांक्षा के छ ? तपाई उम्मेदवार बनेर जित्नुभयो भने त्यसलाई कसरी पुरा गर्नुहुन्छ ?
विराटनगरमा जनताका अधुरो सपनाहरु छन् । विराटनगरमा विकासको नेतृत्व गर्ने उपयुक्त पात्र भएनन् । यहाँका जनता त्यसको नेतृत्व गर्ने उपयुक्त पात्रको खोजीमा हुनुहुन्छ । समग्र विराटनगरलाई समृद्ध कसले बनाउन सक्छ र समृद्ध विराटनगरभित्रको सुखी विराटनगर कसले बनाउन सक्छ भन्ने पात्रको खोजीमा जनता हुनुहुन्छ । त्यो पात्र नेकपा (एमाले) ले मात्र दिनसक्छ भन्ने जनतालाई अनुभूति छ । त्यो नेकपा (एमाले) भित्रको पात्र पनि सागर थापा भइदिएदेखि सुनमा सुगन्ध हुन्थ्यो भन्ने जनताको अपेक्षा छ ।

एमाले विभाजन भएको स्थिती छ, विभाजनको प्रभाव कस्तो परेको छ ?
निर्वाचनमा हामीलाई कही प्रभाव पर्दैन र परेको छैन । किनभने हिजो उहाँहरुले हामीसँग रहँदा जति असहयोग गर्नुभएको थियो, त्यसको आधा पनि असर गर्नुहुन्न । त्यसैले केही नेता चोइटिएर जानुको कुनै अर्थ छैन । हामी चोइटिएर बाहिरिएका मान्छेको नाम पनि लिने गर्दैैनौँ र जनताले लिन पनि चाहनुहुन्न । हिजो चुनाव हराउन लाग्नेहरु, पार्टी संगठनले गरेको निर्णयलाई अवज्ञा गर्नेहरु आज हाम्रो पार्टीमा हुनुहुन्न । त्यसो भएको हुनाले आज हामीलाई फाइदा छ ।

अहिलेको परिस्थतिमा विराटनगरमा एमाले साँच्चै एकताबद्ध छ त ?
हाम्रो पार्टी भित्र अहिले गुट छैन । पार्टीभित्र असन्तुष्टि पनि छैन । तर, प्रतिष्पर्धा छ । त्यसलाई गुट र असन्तुष्टि भन्न मिल्दैन ।

भनेपछि यसपटकको निर्वाचनमा एमालेभित्र अन्तरघातको खतरा छैन ?
बिल्कुल छैन । हामी हिजो पञ्चायतदेखिनै विराटनगरमा कमजोर छैनौँ । पञ्चायतमा पनि धु्रवनायणले जित्नुभयो ।त्यसपछि ०४९ सालको निर्वाचनमा बन्दुक पड्काएका कारण हाम्रा साथीहरुले बहिस्कार गर्नुभयो । चुनावमा भाग नलिएपछि जसले भाग लिएको छ, जित त उसैको हुन्छ । त्यतिबेला बुथ लुटेका कारण एमालेले बहिस्कार ग¥यो । त्यतिखेर जहाँ हाम्रा साथीहरुले भाग लिनुभएको थियो, त्यहाँ जितेका हौँ ।

त्यसपछि ०५४ सालमा सानदार ढंगले जित्यौँ । र अघिल्लो २० वर्षपछिको निर्वाचनमा हामीले चुनाव हारेनौँ । हामीलाई तत्कालीन पार्टीका जिम्मेवार नेताहरुले हराएको टेक्निकल हार हो हाम्रो । हामी हिजो पनि मैदानमा कमजोर थिएनौँ । आज पनि हामी मैदानमा शक्तिशाली छौँ । हिजो कार्यकर्ताको बीचमा जान सकेका थिएनौँ । आज जुन टोलमा जानुस् नेकपा (एमाले) ले जित्छ भन्ने सन्देश दिन्छ । राम्रो पक्ष के छ भने जहाँ हामी कमजोर थियौँ, त्यहाँ शशक्त छौँ ।

जहाँ ५६ भोट आएको वडा थियो त्यहाँ पनि अहिले हामी जित्ने तयारीमा छौँ । हाम्रो उर्जा नतिजा नआउन्जेलसम्म कायम राख्छौँ र परिणाम आएपछि त्यो परिणामलाई सदुयोग गरेर यहाँका अधुरा सपनाहरुलाई साकार पार्ने, नेतृत्व गर्ने पात्रको रुपमा हाम्रा जनप्रतिनिधिहरु पठाउछौँ । हामी भत्ता खानका निमित्त होइन, हाम्रा मेयर, उपमेयर वडाध्यक्षहरु समग्र महानगरलाई मुलुकमा चिनाउनेगरीको प्लानिङसहित अगाडी बढ्छौँ ।

एमालेबाट धेरै नेताहरु मेयरको आकांक्षी देखिनुभएको छ । टिकटका लागि तपाई कत्तिको दौडधूप गरिरहनु भएको छ ?
म आजसम्म त दौडधुपमा छुइन । मलाई के विश्वास छ भने यसपटक नेतृत्वको गोजिमा होइन कार्यकर्ताको खोजीमा छ र हाम्रो पार्टी महानगर कमिटीले पनि त्यही सन्देश दिएर हरेक वडामा संयन्त्र बनाएका छौँ । संयन्त्रले गरेको निर्णयका आधारमा हामी माथि सिफारिस गर्छौँ र त्यो वडाको संयन्त्रले गरेको निर्णय जस्ताको त्यस्तै कार्यान्वयन गर्छौँ । यसपालि शक्तिशाली कार्यकर्ता हो भन्ने भान हुनेगरी हामी योजनाका साथ गइरहेका छौँ । हाम्रो पार्टी केन्द्रले जनस्तरबाट उठेका हुराहरुलाई निर्णय गर्छ । यसपालिको टिकट सर्वसम्मत यो विराटनगरको माटोले मागेको, बाटोले खोजेको पात्र एमालेबाट उम्मेदवार हुन्छ । प्रतिष्पर्धाभित्र श्रेष्ठता हासिल गर्ने मान्छेनै नेकपा (एमाले) को उम्मेदवार हुन्छ ।

कस्तो तयारी गरिरहनु भएको छ ?
हामी अहिले टोलटोलमा पुगिरहेका छौँ । अब हामी बस्तीभित्रको योजना माग्दै जनताको घर घरमा पुग्दैछौँ । जनताका माग के–के हुन त्यसलाई हामीले नोटिस गरिसकेका छौँ । हाम्रो हरेक वटा कमिटीले त्यो वडामा यो यो गर्ने भनेर न्युनतम पाँच वटा कामको प्लानिङ गर्दैछ, त्यो पाँच वटा कामसहित यो चैतभरी जनताको घरदैलो जाँदैछौँ । मैले मेरो वडा जिताउँछु भनेर हामीले अभियान सञ्चालन गरिरहेका छौँ । अनि जितिसकेपछि पाँच वटा यी–यी काम गर्छौँ भनेर हामी जनताकाबीचमा योजनाका साथ प्रथामिकतामा राखेर जाँदैछौँ । हामी अहिलेको महानगरको मेयरले काम गरेनन् भन्दा पनि यो–यो गर्छौँ भनेर योजनासहित जनतालाई आश्वास्त बनाउन चाहन्छौँ । जनता हाम्रो प्रतिक्षामा छन् ।छिट्टै निर्वाचन भैदियोस र समृद्धिका निमित्त एमालेले नेतृत्व गरोस भन्ने चाहन्छन् ।

यहाँले घोषणापत्रको कुरा गर्नुभयो । तपाईहरुले बनाउने घोषणापत्र कार्यान्वयन हुन्छ भनेर जनताले कसरी पत्याउने ?
हामीले गर्ने घोषणा चाहीँ एकदमै कार्यान्वयन हुने खालको हुन्छ र कार्यान्वयन गर्छौँ । हाम्रो समन्वय पार्टीसँग हुन्छ । हाम्रो गाइडलाइन पार्टी हो । अहिले विराटनगरमा जुन कांग्रेसले जितेको अवस्था हो । अहिलेको मेयरसँग न भिजन छ,न मिशन छ, न उहाँसँग छ, न उहाँको पार्टीसँग छ । त्यसैले मिशन बेगरको प्लानिङ सक्सेस हुँदैन । अहिलेको मेयर असफल भन्दापनि समग्रमा कांग्रेस असफल हो ।

उहाँ कांग्रेसको नगरसभापति हुनुहुन्थ्यो, प्लानिङ गर्ने ल्याकतै नभएको कारणले गर्दा, सपनै नदेखेको कारणले हावादारी रुपमा चुनाव जित्नका लागि प्याकेज फ्यालेका कारणले पूरा गर्न नसकेको हो । यदि कार्यान्वयन गर्नु थियो भने त महानगरपालिकाले प्रदेश सरकार, र संघीय सरकारसँग समन्वय गर्नुपथ्र्यो । यो महानगरपालिकाले एक रुपैयाँ बजेट पनि केन्द्र र प्रदेशबाट ल्याएको छैन । तर, हामी प्रतिपक्षमा छौँ, हामीले अरबौँ रुपैयाँ यो विराटनगरको माटोमा ल्याएका छौँ । सडकहरु बनाएका छौँ, पुल पुलेसाहरु बनाएका छौँ भनेर हामी गर्वका साथ भन्न सक्छौँ । तर, आजका मेयरले फलानो बाटोचाहीँ केन्द्रको बजेट ल्याएर बनाइएको हो भन्ने अवस्था छैन ।

प्रदेशसरकारले पालिकालाई दिने अनुदानबाहेक अरु ल्याउन सकेन । समग्र विराटनगर बनाउने चानचुने कुरा होइन । अहिलेको मेयरसँग राजश्व संकलन गर्ने प्लानिङ पनि छैन, केन्द्रसँग समन्वय गरेर बजेट तथा योजना ल्याउने क्षमता पनि छैन । त्यसकारण घोषणापत्रमा भएका योजनाको कार्यान्वयन हुन सकेन । त्यसैले आज विराटनगर अस्तव्यवस्त भएको छ र विराटनगरभित्र एडिबि प्रोजेक्ट, प्रदेश संघीय सरकारको काम सर्लक्क निकालियो भने विराटनगरमा केही कामै देखिदैन । विराटनगरका मेयरले यो ५ वर्षमा गर्वका साथ कम्तिमा पाँच वटा मैले यो काम गरेँ भनेर भन्दिउन् त । त्यो भन्न सक्ने अवस्था छैन ।

उहाँले त हामीले ल्याएको बजेट पनि फ्रिज गर्नेभन्दा अरु केही कामै गर्नुभएन । विरेन्द्र सभा गृहको ४ करोड बजेट फ्रिज गराउनुभयो । तर, आज लोन लिएर बनाउँदै हुनुहुन्छ । जस एमालेलाई जान्छ भनेर मेयरले नियतबस त्यो बजेट फ्रिज गराउनुभयो । पहिलो वर्ष २ करोडको योजना हाल्दा त्यो पनि पूरा भएको छैन भनेपछि उनी कसरी हुन्छ फ्रिज गराउने कुरामा लागे । संघ र प्रदेशबाट सिधै सञ्चालन भएका योजनाले मात्र विराटनगरको अहिलेको विकास देखिएको हो । विराटनगर बनाउने अहिलेका मेयरसँग कुनै योजना छैन । तर, हामीसँग स्पष्ट योजना र सपना छन् । त्यसैले हाम्रो घोषणापत्र कार्यान्वयन हुन्छ ।

तपाई उम्मेदवार हुनुभयो भने आगामी पाँच वर्षभित्र कस्तो विराटनगर बनाउने योजना तपाईसँग छन् ?
विराटनगरभित्र आउने मान्छेलाई अहिले रमाइलो गरौँ, घुमौँ भन्ने ठाउँ छैन । हामी सवैखाले मानिसहरु जान मिल्नेगरीको पार्क निर्माण गर्ने सोच छ हाम्रो । किनभने त्यो आम विराटनगरवासीको चाहना हो । जनताको त्यो चाहना कार्यान्वयन गर्न हामी लाग्छौँ । अहिले पनि विराटनगर हिलोमुक्त महानगर हुन सकेकोे छैन । धुलोमुक्त शहर हुन सकेको छैन । हिलो र धुलो मुक्त गर्ने पहिलो प्रयास हाम्रो हुनेछ । विराटनगरमा अहिले पनि स्वास्थ्य उपचारको समस्या छ, कोशी अस्पताललाई थप व्यवस्थित गर्नेछौँ । विराटनगरमा यस्ता ठाउँहरु छन् जहाँ आज पनि बिजुली पुगेको छैन । महानगर भन्ने कि गाउँपालिका भन्ने ? बाटाघाटाहरु जिर्ण अवस्थामा छन् ।

ति बाटाहरुलाई प्लानिङ गरेर बनाउन चाहन्छौँ । विराटनगर औद्योगिक शहर हो, तर यहाँ औद्योगिक वस्तुहरुको प्रदर्शनी स्थल छैन । हामी त्यसको व्यवस्थापन गर्न चाहन्छौँ । विराटनगरको भूगोल हेर्ने हो भने अझैपनि ४० प्रतिशत हिस्सा कृषि योग्य आज पनि छ । महानगरभित्र कृषि क्रान्ति पनि गर्नुपर्नेछ र हामी बाँझो जमिन राख्न पाइँदैन भन्ने कानून बनाएर जमिनलाई कृषि उत्पादनमा लगाउन चाहन्छौँ । श्रमलाई उत्पादनमा जोड्न चाहन्छौँ । रोजगारीको सम्बन्धमा कम्तिमा हामी एक घर एक रोजगारी दिने लक्ष्य छ ।जुन क्षेत्रमायोग्यता क्षमता छ । त्यस्तालाई तत् क्षेत्रमा स्वरोजारमा जोड्ने हामीसँग स्पष्ट योजना छ ।

महानगरभित्र आज पनि ३० प्रतिशत बढीले कर तिर्दैनन् । त्यो शतप्रशितले तिर्ने वातावरण हामी बनाउछौँ । विराटनगरमा राजश्व तिर्नका निमित्त हामी विराटनगरबासीलाई करले होइन रहर र गर्वले तिर्ने वातावरण सृजना गर्नेछौँ । विराटनगर भेडियारीमा रहेको विराट राजाको दरवार ऐतिहासिक एवम पुरातात्विक महत्वको क्षेत्र हो । त्यसलाई बनायौँ भने विहार, युपी र पश्चिम बंगालका भारतीय नागरिकलाई धार्मिक पर्यटकको रुपमा भित्रयाउन सक्छौँ । जसले ठूलो इन्कम समेत जेनेरेट हुन्छ । आम्दानीको श्रोत बढ्छ । विराटनगरलाई पर्यटकको गन्तब्य स्थान बनाउने वातावरण बनाउन चाहन्छौँ । हामी विराटनगरलाई शैक्षिक र मेडिकल हब बनाउन चाहन्छौँ । कोशी अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गरेर जान चाहन्छौँ ।

एमालेबाट विराटनगरका केही प्रभावशाली नेताहरु बाहिरिनु भएको छ । यसको असर निर्वाचनमा पर्दैन ?
उहाँहरु आफु जित्ने होइन । एमालेलाई कसरी हराउन सकिन्छ भनेर उहाँहरुले दिमाग लागाईरहनु भएको छ । हाम्रा कार्यकर्ता काफी छन् । हामीबाट चोइटिएर गएको सानो माधव नेपालको पार्टी विराटनगरको समाजको प्रतिष्पर्धीनै होइन । उहाँहरु हिँजो हामीसँग हुँदा पनि घातप्रतिघात र अन्तरघात गर्दै आउनुभएको यथार्थ हो । बरु अब त पार्टीभित्रै रहेर पार्टीविरुद्ध गतिविधि गर्नेनै बाहिरिइसकेपछि एमाले अझ मजबुत र एकतावद्ध भएको छ । राजनीतिक रुपमा हाम्रो शत्रु कुनै पार्टी होइनन् । हाम्रो शत्रु यहाँको अशिक्षा, गरिबी, कुरिती, अविकास हो । त्योसँग हामी लडाई गर्न चाहन्छौँ । विराटनगरमा हामीले जित्ने र हार्नेभन्दा पनि विराटनगरको विकास कसरी गर्ने भन्ने हाम्रो चाहना हो ।

तपाईले टिकट पाउनु भएन भने ?
म पार्टीको महानगर अध्यक्ष भएका कारणले म उम्मेदवार भन्दा पनि पार्टीको उम्मेदवार को हुनुहुन्छ उहाँलाई बोकेर जिताउने अभियानमा लाग्ने हो । मैले मनै उम्मेदवार हो भनेर कतै घोषणा पनि गरेको छैन । तर, आम कार्यकर्ताले तपाई उठ्नुपर्छ भन्नुभएको छ । मैले के भनेको छु भने म उम्मेदवार होइन । सूर्य हो, पार्टी हो भन्ने सन्देश दिएको छु । वडामा पनि साथीहरुले आफू उम्मेदवार हो भनिरहनु भएको छैन । महानगर अध्यक्षले त्यो सन्देश दिएको कारणले पनि आज सवै साथीहरुले पार्टीका लागि, सूर्य चिन्हलाई जिताउन लागि पर्नुभएको छ । यसपालि हामीलाई चुनौतीसँगै अवसरपनि छ महानगरमा । हामी उम्मेदवार पार्टीले छान्ने निर्णयको मात्र ब्यग्र प्रतिक्षामा छौँ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.