काठमाडौं, भदौ १
नेपाल क्रिकेटले पछिल्लो पटक जुन किसिमले फड्को मारेको छ त्यो निकै लोभलाग्दो छ । चार बर्षका लागि एकदिवसिय मान्यता पाउनु, पहिलो एकदिवसिय सिरीजमा जित निकालेर सुखद सुरुवात गर्नु, यी घटनाहरु नेपाली क्रिकेटको सुखद सुरुवातको उदाहरण हुन । फेरी एकपटक नेपाली क्रिकेटका लागि अर्को ठुलो अवसर आएको छ, त्यो हो एशिया कप खेल्नु । तर एशिया कपको यात्रामा नेपाललाई जति धरै मौका छन त्यती नै चुनौती पनि ।
नेदरल्याण्ड्समा भएको एकदिवसिय श्रृखंलापछि केहि समयको ग्यापपछि नेपाली क्रिकेट टिमले एशिया कप छनोटको तयारीमा छ । उच्च आत्मबल बोकेको नेपाली टिमका लागि एशिया कपको तयारी समयका हिसावले छोटो भएपछि पछिल्लो केहि महिना देखि नियमीत क्रिकेट खेलिरहेकाले प्रयाप्त पनि देखिएको छ । अगष्ट २८ मा मलेसियामा हुने एशिया कप छनोट नेपालका लागि त्यति सजिलो भने छैन ।
नेपाल, मलेसिया, ओमन, सिंगापुर, युएई र हङकङ यो प्रतियोगितामा भिड्दैछन । जसमा सबै टिमले एक अर्कालाई निकै राम्रोसँग पहिचान गरेका छन । त्यसमा पनि नेपालका लागि युएई, हङकङ र ओमान बलियो प्रतिद्धन्द्धीका रुपमा लिइएको छ । किनकी नेपालले पछिल्लो समय यी टिमसँग खल्लो नतिजा हात पार्नुपरेको थियो ।
नेपालले एक साता नेपालमा अभ्यास गरेपछि बैदेशिक प्रशिक्षणमा श्रीलंका जानेछ । जहाँ नेपालले तीन वटा अभ्यास खेल खेल्ने योजना बनाएको छ । यो प्रतियोगिताका लागि नेपालले १९ खेलाडीको घोषणा गरिसकेको छ भने अबको दुई दिनमा अन्तिम १५ जनाको सुचि निकाल्नेछ । तर यसपटक नेपाली टिममा अनुभवी खेलाडी शरद भेषावकर र शक्ति गौचनको अनुपस्थिती केहि हतसम्म खड्कीन सक्नेछ ।
यदि नेपालले छनोट चरणमा विजयी भएमा पाकिस्तान र भारतसँगको समुहमा पर्नेछ । जुन नेपाली खेलाडीका लागि टेष्ट मान्यता देशको सिनियर टिम विरुद्ध खेल्न पाउनु आफैमा पनि ठुलो मौका हुनेछ ।