Nepal Times
Nepal Times
3
Shares

आजदेखि देशभर टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु

आजदेखि देशभर टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु

२५ चैत, काठमाडौँ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ ।

आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ ।

विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका थिए ।

हिजो काठमाण्डौको दरबार हाइस्कुलका केही विद्यार्थीलाई खोप दिइएको थियो । परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालकाअनुसार नेपालमा हरेक वर्ष झन्डै चार लाख ५० हजारभन्दा धेरै टाइफाइडबाट सङ्क्रमित हुन्छन् ।

पानीजन्य रोगबाट हुने टाइफाइड, हैजाजस्ता समस्या हरेक वर्ष बढिरहेका छन् । टाइफाइडबाट ज्यान गुमाउनेको सङ्ख्या कम भए पनि सङ्क्रमणदर धेरै रहेकाले जोखिममा रहेका समूहलाई खोप दिन थालिएको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताए ।

यसैबीच, टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाण्डौ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले सूचना निकालेर आजदेखि आउँदो वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले सहयोग गर्न आग्रह गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार महानगरका सामुदायिक र निजी गरी ६ सय विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न उहाँको आग्रह छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.