विराटनगर, ११ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतह निर्वाचनकोे उम्मेदवार छनौट गर्दा सत्ता गठबन्धनले पुरुषलाई मात्र प्रथामिकता राखेको भन्दै महिलाहरुले विरोध गरेका छन् ।
उनीहरुले सत्तागठबन्धनले महिलालाई बाईपास गरेको भन्दै विराटनगरस्थित नेपाली कांग्रेस पर्टी कार्यालयमा नाराबाजी गरेका छन् । नेपाली कांग्रेसको भातृ संगठन महिला संघको अगुवाईमा महिलाहरुले नाराबाजी नारवाजी गरेका हुन् ।
प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुनु पर्ने माग गर्दै महिला संघले आज विहान विराटनगरस्थित कांग्रेसको प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै नाराबाजीसहित दवाव दिएका हुन् ।
उनीहरुले प्रदेश सभापति उद्धव थापालाई भेटेर महिलाको माग सम्बोधन गर्न माग गरेका थिए । गठबन्धनका नाममा महिलालाई बाईपास गर्न नहुने उनीहरुको माग थियो । सभापति थापालाई भेटेका महिलाहरूले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् । महिला संघलाई सम्बोधन गर्दै प्रदेश प्रदेश सभापति थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने जिकिर बताए ।
सत्तागठबन्धनले चुनावी तालमेल गर्दा प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्काे पार्टीलाई दिनेस्थित आउँदा दुवै पार्टीबाट पुरुष पर्ने गरेको भन्दै महिला संघले विरोध गरेको हो ।
