२७ जेष्ठ , विराटनगर । स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित तीन थरीका उद्योगका समस्याको सम्बोधन गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रिएका पूर्वका उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् ।
भेटका क्रममा अर्थमन्त्रीले समस्या समाधानका लागि असार १ गतेदेखि नै आफूले काम सुरु गर्ने आश्वासन दिएका छन्।
वार्तामा जेठ ३० गते बजेट पास भएपछि तत्कालै असार १ देखि म समस्याको सम्बोधन गर्ने अर्थमन्त्रीले वचन दिएको प्रिमियर वायरका सञ्चालक पवनकुमार शारडाले जानकारी दिए ।
वार्तामा मन्त्री शर्मा जिआई वायरको निर्यात भएपछि त्यसको कच्चापदार्थ एमएस वायरमा लाग्ने अन्तःशुल्कको रकम पनि फिर्ता गर्न राजी हुनुभएको उद्योग सङ्गठन मोरङका अध्यक्ष प्याकुरेलले बताएका छन् ।
वार्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरे, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, हुलास वायरका सञ्चालिका युक्ति गोल्छा, मोरङ व्यापार संघका महासचिव अनिल शारडा लगायतका उद्योगीले स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित तीन थरीका उद्योगलाई बजेटले पुर्यााएको संकटका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
सो क्रममा उद्योगीहरुले अर्थमन्त्रीलाई मागपत्र समेत बुझाएका थिए । तीन वटै व्यावसायिक सङ्गठनले आजै प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म शान्तिपूर्ण सांकेतक विरोध र्याली गर्दै प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेज्यूलाई ज्ञापन पत्र बुझाएका थिए ।
आ.व.२०७९÷८० का बजेट नीतिहरुको विरोधमा मोरंग व्यापार संघको नेतृत्वमा थालिएको विरोध कार्यक्रममा उद्योगी तथा ब्यापारीहरु विराटनगर बजार हुँदै प्रदेश नं. १ को मन्त्रीपरिषदको कार्यालयसम्म शान्तिपूर्ण सांकेतक विरोध र्यालीसहित पुगेका थिए ।
व्यापार संघका अध्यक्ष नवीन रिजालले विराटनगरका तीन व्यावसायिक सङ्गठनले चलाइरहेको आन्दोलन के गर्ने भन्ने विषयमा शनिबार तीन वटै सङ्गठनको संयुक्त बैठक बसेर निर्णय गरिने जानकारी दिएका छन् ।
बिहीबार उनीहरुले मोरङको बूढीगंगामा सडक प्रर्दशन गर्दे बजेटका नीतिको विरोध गरेका थिए ।