२५ असार, जनकपुरधाम ।
संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् ।शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन् ।बैठक सुरु भएलगत्तै लोसपा सांसद परमेश्वर साह र उपेन्द्र महतो, नेकपा एमालेका सांसल किशोरी साह ‘कमल’ ले शोक घोषणा गरेका दिन बैठक बोलाएकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।सभामुख सरोज कुमार यादवले बैठकलाई निरन्तरता दिएपछि यी सांसदले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका छन् ।बैठक बहिष्कार गरिएपछि सभामुख यादवले आजै १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार शोक मनाउने निर्णय गरेको छ ।