२६ असार,काठमाण्डौ ।
गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित भएको छ । सांसद बोल्दाबोल्दै आइतबार माइक बिग्रिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक समस्या समाधान नहुँदासम्मलाई स्थगित गरेका छन् ।आइतबार जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहेकी थिइन् । उनी बोल्दाबोल्दै माइक बिग्रियो । उनलाई एकछिन रोकेर सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भने । फेरि आफ्ना धारणा राख्न सभामुखले सांसद पोखरेललाई समय दिए । माइक बिग्रिएपछि उनले बिनामाइक आफ्ना कुरा राखिन् र बिदा भइन् । ‘म बोल्दाबोल्दै माइक बिग्रियो । बोलेर सकेपछि सभामुखज्यूले समय नतोकी प्राविधिक समस्या समाधान नहुँदासम्म भनेर बैठक स्थगित गर्नुभएको छ,’ सांसद पोखरेलले भनिन् । गण्डकी प्रदेशसभामा गत २० असारदेखि आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमाथिको छलफल जारी छ ।