Nepal Times
Nepal Times
3
Shares

नेपालमा कोरोनाको चौथो लहरको संकेतः लापरवाही नगर्न र खोप लगाउन सुझाव

नेपालमा कोरोनाको चौथो लहरको संकेतः लापरवाही नगर्न र खोप लगाउन सुझाव

३ साउन, काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो देशभरका ल्याबमा ४ हजार ६ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । भर्ना भएका बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघा लाग्ने, थकित, पसिना आउनेजस्ता लक्षण देखिएको छ । गएको असार १ गते परीक्षण गरिएकामध्ये ० दशमलव ६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक महिनामा सक्रिय सङ्क्रमित १ हजार ७ सय ७६ पुगेको छ, यसमध्ये काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै १ हजार १ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । धेरैजसोमा अहिले ओमिक्रोनको उपप्रजाति बीए टू र अन्यमा बीए वान र बीए फाइभ पुष्टि भएको छ।

यस्तै, पछिल्लो साढे दुई महिनामा कोरोना सङ्क्रमणका कारण पहिलो पटक अस्ति आइतवार एक जनाको ज्यान गएको थियो भने हिजो पनि अर्का एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाएका दुवै जनाले कोरोना विरुद्धको खोप लगाएका थिएनन्।

कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै पछिल्लो समय लापरबाही र हेलचेक्र्याइँ बढ्दै गएको छ । विज्ञले जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुन र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । सकेसम्म भिडभाडमा नजान, मास्कको प्रयोग गर्न र खोप लगाउन डाक्टरको सुझाव छ।

विभिन्न अध्ययनहरुले बीए फाइभ भेरियन्ट ओमिक्रोनका अन्य प्रजातिभन्दा बढी सङ्क्रामक देखाएको छ । खोप लगाएकामा जोखिम कम हुने भएकाले खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच, काठमाण्डौमा आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको बुस्टर मात्रा दिइँदै छ ।

काठमाण्डौका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोभिसिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पायक पर्ने ठाउँमा खोप लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार आउँदो शुक्रवारसम्म बुस्टर मात्रा लगाउन पाइने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.