Nepal Times
Nepal Times
3
Shares

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा

३ साउन, झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्लादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।

झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ ।

नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात उच्च हुँदा काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्लादेश र भुटानसँग पनि नेपालको व्यापार घाटा छ ।

बङ्लादेशसँग १० अर्ब ९ करोड ९९ लाख र भुटानसँग ७४ करोड ८६ लाख रुपैयाँ घाटा पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्लादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै भुटानबाट १ अर्ब २० करोड ५३ लाखको सामान आयात हुँदा ४५ करोड ६५ लाख सामान निर्यात भएको थियो ।

बङ्लादेश र भुटानसँग नेपालले काँकडभिट्टा नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार हुन्छ । बङ्लादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ ।

बङ्लादेशसँग नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र २०७६/०७७ मा ३ अर्ब ९९ करोड ४३ लाख ११ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको थियो ।

यसैबीच मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ओलीका अनुसार १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट धेरै भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.