९ साउन,काठमाण्डौ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले चड्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । आज बिहान राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको थियो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका अधिकृतले बताएका छन् । ‘नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो,’ ललितपुर ट्राफिक प्रहरीले बताएको छ । जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको जनाएको छ । ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन् ।
यो गाडीको प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको छ । गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन । सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पार्टीभित्र विवाद चुलिएपछि जसपाले गत असार २९ मा मन्त्रीहरु हेरफेर गरेको थियो । जसपाले नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा प्रवेश भएका हुन् । राई भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवको स्थानमा फेरिएका थिए । योसँगै उनी तेस्रोपटक मन्त्री बनेका छन् ।