१२ साउन, काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीवार नेपाल भ्रमणमा आउँदै छन् ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनेछन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि उनको नेपाल भ्रमण हुन लागेको हो ।
नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेको छैन । चौतर्फी आलोचना भएपछि नेपालले गएको असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो ।
यसअघि गएको मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका थिए ।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओले नेपालको भ्रमण गरेका थिए ।
लिउ जियान्चाओ फर्किएको दुई हप्ता नबित्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लागेकाले यसलाई चासोका साथ हेरिएको छ ।