Nepal Times
Nepal Times
396
Shares

कस्तो रोग हो हेपाटाइटिस ?कसरी सर्छ ?कसरी बच्ने ?

कस्तो रोग हो हेपाटाइटिस ?कसरी सर्छ ?कसरी बच्ने ?

१२ साउन,विराटनगर ।

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, विविध सचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा मनाउने गरिन्छ । यसवर्षको नारा ‘हेपाटाइटिसविरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने रहेको छ । हेपाटाइटिस भनेको एउटा संक्रामक रोग हो । जसमा विभिन्न भाइरसले कलेजोलाई असर गर्छ ।

एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । हेपाटाइटिस ’ए’,’बी’,’सी’ र ’ई’ कमन हेपाटाइटिस हुन् । हेपाटाइटिस ’ए’ र ’ई’ पानीबाट सर्छ । यसको क्षणीक र कम असर देखिन्छ । यसमा सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । त्यसको एक हप्तापछि जण्डिस हुने, पिसाब पहेँलो हुने, आँखा पहेँलो हुन्छ भने जिउ चिलाउने हुन्छ । यो आफैं निको हुँदै हुन्छ । केही मात्रै अस्पताल भर्ना हुने गरेका छन् । हेपाटाइटिस ’बी’ र ’सी’ रगतबाट सर्छ । यसले कलेजोलाई असर पर्छ । यसमा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन ।

जण्डिस हुँदै गएपछि जिउ गल्ने र पछि गएर कलेजो फेलसमेत हुन सक्छ । त्यस्तो अवस्थामा पेटमा पानी जम्ने, बान्तामा रगत आउने हुन्छ । ’बी’को हकमा ट्याबलेट र खोप बनेको छ । तर आजको दिनमा ट्याबलेट र खोपले रोगलाई थामेर राख्नेमात्रै हो । पूर्णतः निको हुने क्षमता भएको औषधि बनेको छैन । ’सी’को हकमा औषधि बनेको छ । यसको सफलता दर ९५ प्रतिशत माथि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हुनेगर्छ ।

त्यसैगरी ९४ लाख मानिस क्रोनिक हेपाटाइटिस ‘सी’ भाइरसबाट सङ्क्रमित हुनेगरेका छन् । नेपालमा एकीन तथ्याङ्क नभए पनि एक प्रतिशत जनसङ्ख्यामा हेपाटाइटिस ‘बी’ का बिरामी भएको अनुमान गरिएको छ । चिकित्सकका अनुसार नेपालमा करिब एक लाख मानिसमा हेपाटाइटिस ‘सी’ र करिब तीन लाख हेपाटाइटिस ‘बी’ का बिरामी रहेको अनुमान गरिएको छ । हेपाटाइटिस ‘सी’ लागूपदार्थ सेवन गर्नेहरुमा बढी देखिएको चिकिच्सकको भनाइ छ । लागूपदार्थ प्रयोग गर्ने ९० प्रतिशतमा हेपाटाइटिस ‘सी’ हुने उनीहरु बताउँछन् ।

हेपाटाइटिस भएका बिरामीलाई शारिरीक व्यायाम, स्वस्थ खाना, चिल्लो, पीरो र धेरै नुनिलो खान हुँदैन । कलेजोलाई असर पर्ने खाना खान हुँदैन । रक्सी,चुरोट खानु हुँदैन । रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए÷नभएको थाहा पाउन सकिन्छ । पानी उमालेर पिउन, असुरक्षित यौन सम्बन्ध नराख्न, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिन र हेपाटाइटिस विरुद्धको खोप लगाउन तथा बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउन चिकित्सकहरु सुझाउँछन् ।

धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ । हेपाटाइटिसका कारणले वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याका रुपमा हेर्नुपर्नेमा स्वास्थविज्ञहरुको तर्क छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.