१५ साउन,काठमाण्डौ ।
नेपालमा विद्युत उत्पादन यसको बजार र व्यवस्थापनमा सधै ब्यस्त रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन् । घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ पुगेका हुन् ।
उनी ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक गरेका छन् । आनन्द अरुणले राखेको टिकटक भिडियोमा रातो गेरुवस्त्र लगाएर घिसिङ ध्यानमग्न भएर नाचिरहेको देखिन्छ । उनीसँगै अरु अधिकारीहरुपनि ध्यानमग्न भएर नाचिरहेका छन् ।
२६ घन्टाको तपोवन बसाईमा कुलमानले एउटा अनुशासित विद्यार्थीका रूपमा आफ्नो कोर्स पूरा गरेका छन् । तपोवनमा रहँदा अरु सहभागीसँगै उनी नाचेको भिडियो अहिले भाइरल भइरहेको छ । शुक्रबार कार्यालय समयपछि ३ बजे प्राधिकरणका १५ जना कर्मचारीसमेत लिएर तपोवनमा पुगेका कुलमान शनिबार बेलुकी साढे ६ बजेतिर फर्किएका हुन् । भीभीआईपीका लागि डिजाइन गरिएको ‘तपोवन फर नेशन’ नामक कोर्समा कुलमानले भाग लिएका थिए ।
एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले डिजाइन गरेको यो कोर्स हरेक महिनामा एक पटक आयोजना गरिन्छ । भवन भट्ट, निराजन भण्डारी, शोमिता सिम्खडा र आनन्द अरुणले यो कोर्स गराउँने गर्दछन् । कुलमानहरुसँगको तस्विरमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत तवोवन पुगेको देखिएको छ । प्रशिक्षक सिम्खडाका अनुसार सबैभन्दा छोटो यो कोर्समा विभिन्न ध्यानका विधिहरु तथा थेरापीहरु सिकाइन्छ । घिसिङले पूर्ण अनुशासनमा रहेर कोर्स पूरा गरेका छन् ।
तपोवनमा ध्यान गर्नेहरुले मोबाइल चलाउन नपाइने, एकापसमा गफ गर्न नमिल्ने, तोकिएको समयभित्र खाना–खाजा आइसक्नुपर्ने, आफूले खाएका भाँडाकुँडा आफैंले धुनुपर्ने जस्ता नियमहरु छन् । कोर्स सिध्याएपछि कुलमानले यो बसाइले आफूलाई पुनर्ताजगी दिएको बताएका थिए ।
यसअघि राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले ओशो तपोवनमा आएर सन्न्यास लिएका थिए । ९ दिनको कोर्स पूरा गरेर उनी शुक्रबार फर्किएका छन् । बिहीबार मात्रै सीके राउतले तपोवनमै सन्यास धारण गरेको भिडिओ र फोटो सार्वजनिक भएको थियो । उनले तवोवनबाट सन्यास लिएका छन् । राउतले तपोवन पुगेर आफनो नाम समेत परिवर्तन गरेका छन् ।