Nepal Times
Nepal Times
3
Shares

चीनमा भेटियो नयाँ हेनिपा भाइरस, न खोप न औषधि, के छन् लक्षण ?

चीनमा भेटियो नयाँ हेनिपा भाइरस, न खोप न औषधि, के छन् लक्षण ?

२५ साउन,एजेन्सी ।

चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट अझै विश्व त्रस्त रहेका बेला चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । नयाँ भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनामा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।

यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सङ्क्रमित भएका उनीहरु जनावरको सम्पर्कमा रहेका भनिएको छ । यो सङ्क्रमण जनावरबाटै सरेको हुन सक्ने अनुमान गरिएको छ । संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् ।

ल्यान्ग्या हेनिपाभाइरससमेत भनिने हेनिपाभाइरसको अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन । यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ । सङ्क्रमितहरुलाई मिल्दोजुल्दो रोगको औषधिमार्फत उपचार गरिने बताइएको छ । प्रतिवेदनमा सान्डोङ र हेनानमा लाङ्ग्या हेनिपा भाइरसको संक्रमणका ३५ मध्ये २६ जनामा ज्वरो, चिडचिडापन, खोकी, एनोरेक्सिया, माइल्जिया, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएको छ ।

यो भाइरसको लागि हाल कुनै खोप वा उपचार नभएकाले संक्रमितको लागि सहायक हेरचाह नै उपचार र यसबाट बच्ने उपाय भएको अधिकारीहरुले बताएका छन् । अहिले आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाइ छ तर यसलाई हल्का रुपमा लिनु पनि उचित हुने छैन् ।

अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको मानिन्छ । सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ५९ करोडभन्दा धेरै संक्रमित भएका छन् भने ६४ लाख ४२ हजारबढिको मृत्यु भईसकेको छ ।

अहिले पनि धेरै मुलुकहरुमा कोरोनाको नयाँ भेरियन्टसहित संक्रमणको नयाँ लहर देखिएको छ । नेपालमा पनि अबको दुई हप्तापछि कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्ने त्यसपछि क्रमशः कम हुँदै जाने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.