Nepal Times
Nepal Times
3
Shares

आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

२५ साउन,काठमाण्डौ ।
आज पनि देशका केही ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यता भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट बेसीका २० वटा घर टहरामा पानी पसेको छ । त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा उद्धार गरिएको छ ।

यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मा माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भइ ६० वटा घर टहरामा पानी पसेको छ । यस्तै, मनोहरा खोला नजिक रहेका केही बङ्गुर तथा कुखुरा फार्ममा बाढीको असर परेको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । काठमाडौंमा विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ । ठूलो पानीका कारण काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदी, खोलाहरुमा बाढी आएको छ ।

वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । आज बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा ७५.१ मिलिमिटर वर्षा मापन भएको छ । आज प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । केही दिन लगातार झरी पर्ने सम्भावना भने छैन । तर प्रि–मनसुनको जस्तै केही ठाउँमा एक्कासी ठूलो वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.