Nepal Times
Nepal Times
3
Shares

डोजरे विकासले बगायोः८ घर क्षति, ६५ घर जोखिममा

डोजरे विकासले बगायोः८ घर क्षति, ६५ घर जोखिममा

२६ साउन, काठमाण्डौ ।
लगातारको वर्षापछि दोलखाको सिंगटीस्थित खोलीखेम क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण ८ घरमा क्षति भएको छ भने ६५ घरधुरी जोखिममा परेका छन् । बुधबार साँझ परेको अविरल वर्षाले विगु गाउँपालिका ४ सिंगटीको खोलीखेम बजारका ८ घरमा क्षति भएको र ६५ घर उच्च जोखिममा परेका हुन् ।

खोलीखेमबाट लादुकतर्फ उक्लिने सडकका कारण सिंगटी खोलिखेम क्षेत्रमा पहिरोले वर्षेनी दुख दिने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । सडकमा अव्यवस्थित तरिकाले डोजर चलाईएका कारण पहिरोले सिंगो खोलिखेम बजारका ६५ घर जोखिममा परेको उनीहरुको आरोप छ ।

खोलीखेममा साउन २३ गतेको पहिरोले चारघर पूर्णरुपमा क्षति पुगेको थियो । गएराति आएको भारी वर्षाका कारण थप चारघरमा आंशिक क्षति पुगेको दोलखाका प्रहरी प्रवक्ता सानू तामाङले जानकारी दिए ।

ठाउँ ठाउँमा झरेको पहिरोका कारण सिंगटी÷लामाबगर सडक अवरुद्ध छ । गत वर्ष पनि पहिरोका कारण बजार क्षेत्रमा क्षति पुगेको थियो । गएराति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको हो । दैलेखसंगै, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ ।

यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै आज पनि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान छ ।

मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि केही पहाडी जिल्लामा मेघगर्जनसहित वर्षाको अनुमान छ । यस्तै आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । पानी पर्ने ठाउँमा बाढी पहिरोको जोखिम रहने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.