२ भदौ,विराटनगर ।
सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् आफू मेयर भएपछि गरेको सय दिनको कामको विवरण सार्वजनिक गरेका हुन् ।
उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् । आफू मेयर भएको सय दिनमा गरेका कामको विवरण माग्नेहरूको लागि लक्षित गर्दै उनले ‘१०० दिनमा के गरिस् तैँले ?’ भन्ने प्रश्न सोध्नेलाई ‘मेरो उत्तर’ भन्दै सो विवरण सार्वजनिक गरेका हुन् ।
उनले १३ बुँदामा सार्वजनिक गरेका उपलब्धिहरुलाई यसरी क्रमबद्ध गरेका छन् ।
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपेँ
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद् व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ
१२. पालिकाका सेवामा तीब्रता र प्रस्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ
यसअघि बुधबार काठमाडौँबाट धरान फर्किएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फल आफू काठमाडौँ आएपछि फोहोर उठेको अभिव्यक्ति दिँदा काठमाडौँका मेयर बालेन शाह र उनीबीच सामाजिक सञ्जालमा जुहारी चलेको थियो । हर्क साम्पाङले फेसबुकमा आफूले काठमाडौं भ्रमण गरेपछि फोहोर उठ्न थालेको भन्दै व्यंग्य गरेका थिए ।
उनले फेसबुकमा स्टाटस पोस्ट गरेपछि बालेनले पनि व्यंग्य गर्दै कमेन्ट गरेका छन् । उनले साम्पाङको चुनाव चिह्न लौरो लिएर आफूले चुनाव जितेको बताएका छन् । दुवैको यो जुहारीलाई लिएर अन्य सामाजिक संजाल प्रयोगकर्ताहरुले आआफ्नो ढंगले कटाक्ष गरेका छन् । कसैले स्वतन्त्रहरु उम्लिएर पोखिएका भन्दै आलोचना गरेका छन् । कसैले पनि सामाजिक संजालमा ब्यक्त गरिएका यस्ता अभिब्यक्तिहरुलाई ठट्ठाको रुपमा नै बुझ्नु पर्ने भन्दै सुझाएका छन् ।
धरानमा हर्कले आफ्नो सय दिनको कामको फेहरिस्त सार्वजनिक गर्दा उता बालेन भने फोहोर ब्यवस्थापनको किचलोमा फसेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित राजनीतिक दलको अवरोधका कारण काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै सामाजिक संजालमा टिप्पणी गरिरहेका छन् ।