२ भदौ ,काठमाण्डौ ।
आठौं महाधिवेशन गरेको आठ महिना बितिसक्दा पनि पदाधिकारी टुंगो नलगाइएको माओवादी केन्द्रमा अहिले भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव पदका लागि सप्र्राइज दिने अनुमान गरिएको छ । माओवादी केन्द्रको महासचिवमा यसअघि चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्मालाई ब्याक तानेर अर्का नेता देव गुरुङलाई प्रचण्डले महासचिव बनाउने सम्भावना रहेको प्रचण्ड निकटले बताएका छन् ।
पुन र शर्मामध्ये कोही एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी प्रचण्डले तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ । यस्तै पार्टीभित्र प्रभाव बढाउँदै लगेका जनार्दन र वर्षमानमाथि दबाब सिर्जना गर्न पनि प्रचण्डले गुरूङको कार्ड फालेको चर्चा छ । आज बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउनेछ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको बारेमा निर्णय लिन प्रचण्डले केही समय मागेका थिए । देव गुरुङलाई महासचिव बनाउँदा वर्षमान पुन र जनार्दन शर्मालाई भने उपाध्यक्ष बनाउने तयारी भएको बुझिएको छ । त्यस्तै, कृष्णबहादुर महरा, मातृका यादव र पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाउनेगरी प्रचण्डले तयारी गरेका छन । वरिष्ठ उपाध्यक्षमा यसअघि नै नारायणकाजी श्रेष्ठलाई प्रचण्डले घोषणा गरिसकेका छन् ।
माओवादी केन्द्रले गत वर्ष पुस ११ देखी २५ सम्म आठौँ राष्ट्रिय महाधिवेशनको आयोजना गरेको थियो । राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले अन्तिममा राष्ट्रिय महाधिवेशनकाको नाम दिएको थियो । माओवादी केन्द्रले २०६९ पछि महाधिवेशन गरेको थिएन । एक दशक पछि भएको महाधिवेशनले पनि पुष्पकमल दाहाल प्रचण्डलाई दोहोराउने बाहेकको अन्य पदाधिकारीको विषय टुङ्गाउन सकेको थिएन ।
महाधिवेशन सकिएको करिब ८ महिना पछि माओवादीले पदाधिकारी पाउने भएको छ । प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ । पदाधिकारी चयनमा निकै सकस हुने जानेरै त्यसअघि नै माहोल अनुकुल बनाउँन प्रचण्डले विभिन्न अभिब्यक्ति दिदै आएका छन् ।
आजै विहान पनि प्रचण्डले आफ्नो पार्टी बिग्रेको बताएका छन् । शहीद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुँदै गएका कारण चरित्रमा नराम्रोसँग स्खलन आएको बताएका हुन् ।
उनले पार्टी धेरै बिग्रेका कारण क्रान्तिकारी नभएको समेत बताए । कुनै समय पार्टी सानो भएपनि निष्ठा भएको तर अहिले निष्ठा र इमान्दारिता हराउँदै गएको अध्यक्ष दाहालको भनाइ छ । नेताहरु व्यक्तिवादी, आत्मकेन्द्रित भएको उनको तर्क छ । प्रचण्डले यस्ता अभिब्यक्तिमार्फत पदका आकाँक्षीहरुलाई लचिलो हुन एक किसिमको दबाव दिएको धेरैको तर्क छ ।