२ भदौ , एजेन्सी ।
स्पिनर अकिल हुसैन र तीव्र गतिका बलर अल्जारी जोशेफको उत्कृष्ट बलिङमा घरेलु टोली वेस्टइन्डिजले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । १ सय ९१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३९ ओभरमा नै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
जित निकाल्ने क्रममा घरेलु टिमका लागि सामर ब्रोक्सले ७९ रन बनाए । कप्तान निकोलस पुरनले २८ रन बनाउँदा साई होपले २८ रनको योगदान दिए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र टीम साउथीले समान २–२ विकेट लिए । एक विकेट भने मिचेल साट्नरको नाममा रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९० रन मात्रै बनाएको थियो ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३४ र माइकल ब्रेसवेलले ३१ रन बनाए पनि अन्य खेलाडी सस्तैमा समेटिए । न्युजिल्यान्डविरुद्ध कसिलो बलिङ गरेका वेष्ट इन्डिजका एकेल हुसेन र अल्जारी जोसेफले समान ३–३ विकेट लिए । त्यस्तै, जासन होल्डरले दुई विकेट लिए । अब दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । य
ता घरेलु टोली आयरल्यान्डले अफगानिस्तानविरुद्धको अन्तिम खेल ७ विकेटले हात पार्दै पाँच टी २० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ । वर्षाले प्रभावित भएपछि ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ६.४ ओभरमा तीन विकेट गुमाउँदै शृंखला आफ्नो पक्षमा पारेको हो । आयरल्यान्डका पाउल स्टर्लिङ १६ रन तथा लोर्कान टकर १४ रनको योगदान गरे ।
अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो । तर, फेरि वर्षा भएपछि आयरल्यान्डले डकवर्थ लेविसको आधारमा ५६ रनको लक्ष्य पायो ।
अफगानिस्तानका उस्मान घानीले सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डका मार्क आदिरले ३ विकेट लिए । यस अघि सुरुवाती दुई खेल आयरल्यान्डले क्रमशः ७ र ५ विकेटले जित्यो । तेस्रो र चौथो खेलमा अफगानिस्तानले क्रमशः २२ र २७ रनको जित निकाले पनि अन्तिम खेल भने गुमाउन पुग्यो ।