२१ कार्तिक , काठमाण्डौ ।
देशैभर उज्यालोको पर्व मनाइरहँदा नेपाल विद्युत् प्राधिकरणले पनि तिहार तथा छठ पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । यो बेला विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ ।
तिहार तथा छठ पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक सम्पन्न भएको छ । बैठकमा पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो।

त्यसैगरी प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यलय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्तिको परिचालनबारे छलफल तथा समन्वय गरिएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उनले भनेका छन् ।
त्यसैगरी प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ । विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।
तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ । उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताए । सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ।
उनले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उल्लेख गरे । पर्व अवधिभर विद्युत्को माग तथा आपूर्तिबारे नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबिच निरन्तर समन्वय गरिनेछ।
प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ । यसैबिच प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेकोछ ।
घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युत्ीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ । विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
यसैबीच तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले पनि देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी जनशक्ति परिचालन तथा निगरानी बढाइएको हो । बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका र बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताएका छन् ।
उनका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरिनेछ । जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै तत्काल प्रतिकार्यका लागि द्रूत परिचालन टोली र विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ । लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
सीमा नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुव्र्यावहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैबीच प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा दीपावली, नेपाल संवत्, छठलगायत पर्वको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवं समसामयिक विषयवस्तुका सम्बन्धमा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले चाडपर्वको समयमा हुनसक्ने लुटपाट, चोरीलगायत आपराधिक क्रियाकलापका घटनालाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन हुनुपर्नेमा जोड दिए ।
विशेषगरी चाडपर्वहरूको समयमा पटकालगायत विष्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक केसीले आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए ।
प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आआफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिलाई समयमै सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू,प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।



