२ भदौ, काठमाण्डौ ।
इतिहास रच्ने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपाल, भारतपछि अब चीनमा पनि रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार मंगलबार नेपाल र भारतका निर्मातासहित भारतको वितरक कम्पनी यूएफओ, मधु इन्टरटेन्मेन्ट र चिनियाँ वितरक कम्पनीबीच पहिलो चरणमा चीनमा चलचित्र प्रर्दशनका बारेमा छलफल भएको छ।
हाल मुम्बईमा रहेका सेनले चीनमा चलचित्र प्रर्दशन गर्ने विषयमा सकारात्मक छलफल भएको र अब दोस्रो चरणको छलफल पछि अन्तिम निर्णय हुने बताएका छन् । उनका अनुसार चिनियाँ वितरक कम्पनी आफैँले चलचित्र त्यहाँ पनि रिलिज गर्ने प्रस्ताव लिएर आएको हो ।
चीनमा रिलिज गर्ने तय भए उताकै भाषामा डब गर्नुपर्ने भएकाले नेपाल र भारतमा रिलिज भएको दुई–तीन महिनापछि मात्र त्यहाँ रिलिज गरिने उनले बताएका छन् । चलचित्रको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्माता समेत रहेका निर्देशक सेनले बताएका छन् ।
चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नु पर्ने बाध्यता । चलचित्रको विदेश वितरणको जिम्मा मधु र यूएफओले लिएका छन् । जी म्युजिकले यसको स्याटलाइट र म्युजिक राइटको अधिकार लिएको छ ।
सेनले प्रेम गीत ३ को प्रचार र क्रेजलाई नजरअन्दाज गर्न नहुने भन्दै समग्र नेपाली चलचित्रलाई विश्वसामु चिनाउन हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आगामी सेप्टेम्बर २३ अर्थात असोज ७ गते नेपाल र भारतमा यो चलचित्र एकैसाथ प्रदर्शन हुने भएको छ ।
जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ ।