विराटनगर,भदौ ६
मध्य बर्षाका महिना असार साउन सकिएर भदौ पहिलो साता पनि सकिन लागेको छ । तर पनि बर्षाका कारण देशभर नदी तथा खोलामा बाढीको खतरा अझै घटेको छैन ।जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी चुरे पहाडबाट उत्पत्ति भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना अझै उच्च रहेको छ । तिनको बहाब ठूला नदीमा मिसिने हुँदा त्यहाँ पनि बाढी तथा डुबानका समस्या दोहोरिने अवस्था छ ।
झापा, मोरङ, बाँके र बर्दियाको चुरेबाट बगेर आउने नदीमा बाढीको खतरा उच्च रहेको मौसम विभागले जनाएको छ । पूर्वदेखि पश्चिम चुरे क्षेत्रमा बुधबार भारी वर्षा भई साना ठूला नदीमा पानीको सहत बढेर तराईका जिल्लामा बाढी आउने खतरा छ । सप्तकोसी, चतरा, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा पानीको सहत बढेर बिहीबार बिहानसम्म सतर्कता तहसम्म पुुग्ने विभागअन्र्तगतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका अनुसार तराईका सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, दाङलगायत जिल्लामा पनि मौसम बदली भई बाढी आउन सक्ने सम्भावना छ । मौसम विभागले यस क्षेत्रका नदी तटमा बसोबास गर्ने स्थानीयलाई सतर्क रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । यसैगरी, गोरखा, लमजुङ, तनहँु, नवलपरासी लगायत जिल्ला भएर बग्ने साना नदीमा समेत बाढीको खतरा रहेको विभागले जनाएको छ । यस क्षेत्र पनि बिहीबार र शुक्रबार भारी वर्षा हुने अनुमान छ ।