७ भदौ , काठमाण्डौ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न स्थानमा आंशिक रुपमा परेको छ । देशभर केही स्थानमा सहज रुपमा यातायातका साधन संचालन भएका छन् भने विद्यालय क्षेत्र भने बन्द रहेको छ ।
बन्दको प्रभाव प्रदेश १ को राजधानी विराटनगर प्रदेश २ को जनकपुर तथा संघीय राजधानी काठमाडौमा परेको छैन् । बिहानैदेखि सडकमा छोटो तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन निर्वाध रूपमा गुडिरहेका छन् । विद्यालयहरू भने बिहानैदेखि बन्द रहेका छन् । बन्दका क्रममा ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।
काठमाडौबाट काभ्रेको बनेपामा संचालन हुने बसमा बन्दकर्ताले तोडफोड गरेपछि चनालहरुले नै बन्दकर्तालाई आक्रमण गरेका छन् । बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् । यस्तै डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड भएको तोडफोड भएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताएका छन् ।
प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा शंकास्पद वस्तु फेलापरेको हो । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार विभिन्न जिल्लाबाट ५२ बन्दकर्तालाई पक्राउ गरिएको छ ।
“काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड र आगजनी भएको उनले बताएका छन् । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् । बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध ४ दलले नेपाल बन्द आव्हान गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आह्वान गरेका हुन् । राष्ट्रियता स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिविका, मुल्य वृद्वि, कालोबजारी, भ्रष्टाचार, कमिसनखोरी लगायत समसामयिक विषयमा वर्तमान सत्ता गठबन्धन सरकारको विरोध गर्दै ४ दलीय कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेका हुन् ।