११ भदौ , काठमाण्डौ ।
नेपाली काँग्रेसमा हाल समानुपातिक तर्फबाट प्रतिनीधिसभा सांसद तथा प्रदेश सदस्य रहेकाहरु आगामी निर्वाचनामा पुनः समानुपातिकबाट उठ्न नपाउँने भएका छन् । समानुपातिकबाट चुनिएकाहरूलाई कांग्रेसले पुनः समानुपातिकमा नदोहो¥याउने नीति लिएको छ । महामन्त्री गगन थापाले समानुपातिकबाट २०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवारमा सिफारिस नगर्न पार्टीका तल्ला निकायहरूलाई परिपत्र गरेका छन् ।
‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने,’ थापाद्वारा जारी परिपत्रमा भनिएको छ । यसअनुसार अब मंसीर ४ गतेको निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिला मन्त्री उमा रेग्मी र राज्यमन्त्री उमेश श्रेष्ठसहित नेपाली कांग्रेसका ४० नेता समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् ।
कांग्रेसको विधानमा एकपटक समानुपातिकबाट निर्वाचित भएको व्यक्ति लगत्तैको निर्वाचनमा समानुपातिकबाट पुनः उम्मेदवार हुन नपाउने व्यवस्था छ । पार्टी विधानको धारा ३३ (२) मा भनिएको छ – ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’
महामन्त्री थापाले पार्टी विधानअनुसार नै मातहतका कमिटीहरूलाई परिपत्र गरिएको बताएका छन् । कांग्रेसले भदौ २० भित्र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने समयसीमा पनि तोकेको छ । त्यसरी उम्मेदवारका आकांक्षीहरूले पार्टीको निर्णय मान्ने प्रतिबद्धता पनि जनाउनुपर्ने सर्त राखिएको छ ।
‘उम्मेदवारको नाम सिफारिस गरी पठाउने प्रत्येक तहले सिफारिसमा परेका व्यक्तिबाट पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण रूपमा सक्रिय रहने प्रणसहितको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई पठाउनुपर्नेछ,’ परिपत्रमा उल्लेख छ । अहिले उम्मेदवारमा सिफारिस भए पनि पछि गठबन्धन हुँदा अरू दलको भागमा परेका स्थानमा पार्टीको उम्मेदवारी कायम नहुने जानकारी परिपत्रमार्फत कांग्रेसले आकांक्षीहरूलाई गराएको छ ।
उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ । सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न सकिने परिपत्रमा उल्लेख छ ।
तर एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ गतेसम्म समय तोकिएको छ । एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेदवारको नाम कार्य समितिमा पठाउन भनिएको छ । प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र आफ्नो रायसमेत समावेश गरी केन्द्रमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।